२१,वैशाख काठमाडौँ । सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले दृढ संकल्पकासाथ जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएपछि पौडेलले भने, ‘राष्ट्रिय हित, सङ्गठनको मर्यादा र जनअपेक्षालाई केन्द्रमा राख्दै इमानदारिता, निष्ठा, निष्पक्षता र दृढ सङ्कल्पका साथ जिम्मेवारी निर्वाह गर्छु ।’
पौडेललाई गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । सशस्त्र प्रहरी महानिरीक्षक पद केवल सङ्गठनको नेतृत्व गर्ने औपचारिक जिम्मेवारी मात्र नभई नेपालको राष्ट्रिय सुरक्षा, सीमा सुरक्षा, शान्ति तथा सुशासन कायम गर्दै जनताको जीउधनको रक्षा गर्ने दायित्व रहेको पौडेलले बताए ।
उनले भने, ‘स्वतन्त्रताको संरक्षण, विपद् व्यवस्थापन तथा नेपाल सरकारबाट प्रदत्त जिम्मेवारीहरूको प्रभावकारी कार्यान्वयन र नयाँ जनभावना बमोजिमको कर्तव्य सुनिश्चित गर्ने उच्च दायित्व सशस्त्र प्रहरी महानिरीक्षकको काँधमा रहन्छ ।’
महानिरीक्षक पौडेलले आफ्नो कार्यकालमा सीमा सुरक्षालाई सबलीकरण गर्दै सङ्गठनको नीतिगत, संस्थागत र संरचनागत सुदृढीकरण गर्न रणनीतिक कार्ययोजना तयार गरेको बताएका छन् । उनले भने, ‘रणनीतिक कार्ययोजना कार्यान्वयनको लागि नेपाल सरकार तथा गृह मन्त्रालयबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।’
सकल दर्जाको कल्याण र बृत्ति विकासमा जोड दिँदै पौडेलले मानव संसाधनको विकास, आधुनिक प्रविधिको प्रयोग गरी नतिजामुखी कार्यशैली अपनाउँदै सुशासन र विकासमैत्री वातावरण निर्माण गर्ने बताए ।
उनले भने– ‘सङ्गठन व्यक्तिले नभई नीतिले चलाउने प्रतिबद्धता व्यक्त गर्नै चाहन्छु ।’











