ललितपुर ,२० चैत । ललितपुर महानगरपालिकाले ललितपुरका फुटबल क्लवहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
आज आयोजित एक कार्यक्रमकाबीच महानगरले ए, बि र सी डिभिजनका फुटवल क्लवहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । जसअनुसार ए डिभिजन लिग खेल्ने ६ वटा क्लवहरुलाई रु चार लाख , बि डिभिजनका २ वटा क्लवहरुलाई ३ लाख र ४ वटा सी डिभिजन क्लवलाई रु दुई लाखका दरले सहयोग हस्तान्तरण गरिएको हो ।
त्यस्तै कार्यक्रममा नर्वौ राष्ट्रिय खेलकुद २०७९ मा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडीहरुलाई महानगरले नगद सहित सम्मान गरेको छ । जसअनुसार स्वर्ण पदक प्राप्त गर्ने २२ जनालाई २० हजारका दरले पुरस्कृत गरिएको छ भने रजत पदक प्राप्त गर्ने १८ जनालाई १५ हजार र कास्य पदक प्राप्त गर्ने १८ जनालाई रु १० हजारका दरले पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले खेलको बिकास संगै खेलाडीहरुको हौसला बढाउनका लागि महानगरले सहयोग गरेको बताउनुभयो ।
आगामी दिनमा महानगरले गर्ने आर्थिक सहयोग बढाउदै लैजाने उहाले बताउनुभयो ।












