काठमाडौं, फागुन ३० । नेकोस तेस्रो भेट्रान्स जुडो प्रतियोगिता चैत्र १ गते काठमााडौंमा आयोजना हुने भएको छ ।
राष्ट्रिय जुडो संघ नेपालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र १ गते ३५ वर्ष भन्दा माथिका भेट्रान्स खेलाडीहरूका लागि नेकोस तेस्रो भेट्रान्स जुडो प्रतियोगिता हुने जनाएको हो । प्रतियोगितामा विजेता हुनेहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।
त्यस्तै चैत्र ३ र ४ गते नेकोस–छैठौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता आयोजना गरिने संघले जनाएको छ । प्रतियोगीतामा भुटान र जापानसहित नेपालको विभिन्न जिल्लाहरु सहित १९ टिमले सहभागीता जनाउनेछन् । प्रतियोगितामा सब–क्याडेट (१५ वर्षभन्दा मुनि), क्याडेट (१५ वर्षदेखि १८ मुनि सम्मका) र जुनियर (१५ वर्षदेखि २१ मुनि सम्मका) गरी तीन तहमा विभाजन गरी खेलाइने संघले जानकारी दिएको छ । प्रतियोगितामा महिला १०४ र पुरुष १४९ गरी जम्मा २५३ जनाले सहभागी जनाउने छन् ।
प्रतियोगिताको अनुमानित बजेट १३ लाख ९५ हजार रहेको आयोजकले जनाएको छ । त्यस्तै संघले वार्षिक कार्यक्रम अनुसार चैत्र १ गतेदेखि ४ गते राष्ट्रिय रेफ्रि सेमिनार तथा परीक्षा–२०७९ समेत आयोजना गर्ने भएको छ । रेफ्रि परीक्षामा उत्तिर्ण हुनेहरूलाई राष्ट्रिय रेफ्रि लाइसेन्स प्रदान गरिने संघको भनाइ छ ।












