काठमाडौं, फागुन १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अव प्रतिपक्षीमा जान सक्ने बताउनुभएको छ ।
महेन्द्रनारायण निधिको १०१ औं जन्मजयन्तीका सन्दर्भमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अव सम्भवतः कानुनी हिसाबले सरकार पुर्नगठनको नयाँ प्रक्रियातिर जानसक्ने भन्दै त्यस्तो अवस्थामा एमाले अव प्रतिपक्षीमा जान सक्ने बताउनुभएको हो । उहाले सत्ता गठबन्धनका दलहरुबाटै संविधानमाथि प्रहार हुन थालेकाले राष्ट्रको हितमा नदेखिएको धारणा राख्नुभयो । आफु प्रधानमन्त्री भएपछि बनेको गठबन्धनमा रहेका कहि दलहरुले हौसिएर संविधान बिपरितका कार्य गरेको उहाले आरोप लगाउनुभयो ।
उहाले कांग्रेसलाई राष्ट्रपति दिएर राष्ट्रिय सहमतिमा जान केपी ओलीलाई प्रस्ताव गर्दा नमानेकै कारण आफुले नयाँ राष्ट्रिय सहमति खोजेको धारणा राख्नुभयो । उहाले आठ दलबिच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको दावी गर्नुभयो । संविधान, लोकतान्त्रिक मूल्य र मान्यता नस्वीकार्ने शक्तिहरूसँगको सहकार्य सहज नदेखिएकाले प्राकृतिक कोर्समा फकिएको उहाको भनाइ छ ।
त्यस्तै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय लोकतान्त्रिक व्यवस्था स्थापित गर्न सफल भइसकेको अवस्थामा संविधानको रक्षा गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओहदाको मर्यादाको रक्षा र सम्मान गर्दै देश र जनताको हितमा लाग्नुपर्ने बताउनुभयो । राष्ट्रपति निर्वाचनमा पौडेल बिजयी हुने भन्दै उहाले दलहरुबीचमा राष्ट्रिय मर्यादा, स्वाभाविक, लोकतन्त्र, गणतन्त्र र संघीयतालाई रक्ष गर्ने बिषयमा एकमत रहेको बताउनुभयो ।
उहाले मुलुकको परिवर्तन गुम्ने खतरा भएकाले फेरी पनि परिवर्तनकारी दलहरु एकै ठाउ उभिनुपर्ने धारणा राख्नुभयो ।











