काठमाडौं, फागुन ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा क्रिकेट खेलाडीहरुलाई बधाई दिदै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्नुभएको हो । चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नु देशकै गौरवको बिषय भएको उहाको भनाइ छ । उहाले नेपालको खेल क्षेत्र राष्ट्रिय प्रतिष्ठाको बिषय भएकाले खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै गल्ती हुने जिकिर गर्नुभयो । छोटो समयमै नेपाली क्रिकेटले हासिल गरेको सफलताले आफुलाई राजनीतिमा प्रेरणा दिँदै आएको उहाले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रका समस्या समाधान गर्न लगातार सहकार्य गरिरहेको बताउनुभयो । मंगलबार मात्र सकिएको विश्वकप लिग टू को खेलमा नेपालले चारवटै खेलमा जीत हासिल गरेको थियो ।
यस्तै लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम पनि घोषणा गरिएको छ । क्यानले बिहीबार पूर्व कप्तान सन्दीप लामिछानेबिनाको १५ सदस्सीय टिम घोषणा गरेको हो ।











