बारा, २४ भदाै । बाराको निजगढ नगरपालिकामा ‘बच्चा चोर’ को हल्लामा कुनै सत्यता नरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो समयमा सामाजिक सञ्जालमा रौतहट, पर्सालगायत तराई मधेशमा भारतबाट आएका मानिसहरूको समूहले बच्चा चोर्ने गरेको र प्रहरीले उनीहरूलाई पक्राउ गरी कारबाही गरेको भन्ने खाले भिडियो तथा तस्बिरहरू भाइरल भइरहेको छ ।
विशेषगरी सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भारतबाट देशका विभिन्न सहरहरूमा समूह नै बनाएर मानिसहरू आउने, कतिपय पुरुषहरू महिलाको भेषमा आउने र बच्चाहरूलाई खानेकुरा दिएर फकाउने गरेको भन्दै भिडियो र फोटोहरू पोष्ट गरिएका छन् । ती पोष्टहरु धेरै मात्रामा सेयर पनि भइरहेको छ ।
तर, निजगढ प्रहरीले भने ‘बच्चा चोर’ को बिगिबिगी केबल हल्ला मात्र भएको बताएकाे छ । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी प्रमुख प्रहरी निरीक्षक संजिव ओलीले भने, ‘स्थानियले बच्चा चोरको आरोपमा समातेर प्रहरीलाई बुझाएकाहरूको अनुसन्धान गर्दा त्यस्तो केही नपाइएको बताउँछन् ।’
उनका अनुसार बिहीबार निजगढ नगरपालिका ८ बाट स्थानीयले बच्चा चोरी गर्न लागेको आरोपमा पक्राउ गरेपश्चात प्रहरीमा बुझाएका उनी सोही क्षेत्र वरपर केही दिनदेखि मागेर हिँडिरहेका व्यक्ति थिए ।
प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्दा बच्चा चोरी गर्ने कुनै नियत नदेखिएको बताएको छ ।
‘यस्ता विषयमा नागरिक सचेत हुनु एकदमै राम्रो हो,’ निरीक्षक ओलीले भने, ‘तर धेरै सशंकित भएर कसैलाई आक्रमण गर्दा अर्को दुर्घटना हुन सक्छ । त्यसैले शंकाको भरमा कसैलाई कुटपिट नगर्न र आवश्यक परे प्रहरीलाई खबर गर्न आग्रह गरे ।’
‘बच्चा चोर’ को आरोपमा प्रहरीमा बुझाइएका र स्थानीयले कुटपिट गरेका अधिकांश व्यक्तिहरू मागेर खाने, मानसिक सन्तुलन ठिक नभएको प्रहरीको भनाइ छ ।
‘बच्चा चोर’ को आरोपमा नौलो मानिसहरूलाई समात्ने, कुटपिट तथा दुर्व्यवहार गर्ने प्रवृत्ति छिमेकी जिल्लामा बढेपछि त्यसतर्फ नागरिक सचेत हुनुपर्ने स्थानीयको भनाइ छ । अनायसै शंकाको भरमा कसैलाई कुटपिट या दुर्व्यवहार गर्न नहुने संचारकर्मी प्रल्लाद शर्माको भनाइ छ ।