मार्क ट्राभिसको ‘डाइरेक्टिङ फिचर फिल्मस’को नेपाली अनुवाद ‘निर्देशकको यात्रा’ सार्वजनिक

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १७ पुस । आजभन्दा दुई दशकअघि अमेरिकामा प्रकाशित फिल्म निर्देशनसम्बन्धी पुस्तक ‘डाइरेक्टिङ फिचर फिल्मस’को नेपाली अनुवाद प्रकाशन भएको छ । ‘महानगर’ फिल्म निर्देशक मोहन राई अनुदित पुस्तकको शुक्रबार अभि सुवेदी, जोएल हिबोनेट, नवीन सुब्बा, सुष्मा राईले संयुक्त रुपमा विमोचन गरे ।

युरोपियन युनियनकी उपराजदूत हिबोनेटले फिल्म सञ्चारको सशक्त माध्यम भएको बताउँदै पुस्तक प्रकाशनले यो माध्यमको शक्तिलाई थप प्रभावशाली बनाउन मद्दत गर्ने धारणा राखेकी थिइन् ।

‘युरोपियन युनियनले पनि फिल्मको माध्यमलाई महसुस गरी नेपालमा युरोपियन फिल्म फेस्टिभल गरिरहेको छ । यस्ता किताबको प्रकाशनले नेपाली फिल्मकर्मीलाई थप प्रतिस्पर्धी सिनेमा बनाउन मद्दत गर्छ भन्ने विश्वास छ,’ उनले भनिन् ।

पुस्तक प्रकाशक मिडलवे फिल्मस कि प्रमोटर सुष्मा राईले मोहन राई आफ्नो भाइ भएको र उसले फिल्म निर्माणसँगै यसको प्राज्ञिक काममा योगदान गरिरहेको देख्दा असाध्यै खुसी लागेको बताएकी थिइन् । ‘मैले किताब पढ्न पाएको छैन किनकि हिजो मात्र गाउँबाट फर्किएँ । तर मोहनले अनुवाद गरेको यो पुस्तकले हामी जस्ता सरकारी स्कुल पढेर अंग्रेजी भाषा बुझ्न संघर्ष गरिरहेकालाई मद्दत गर्छ भन्ने ठानेकी छु,’ उनले भनिन् ।

कार्यक्रममा निर्देशक नवीन सुब्बाले निर्देशनसम्बन्धी आफूले पढेका किताबमध्ये आफूलाई मन परेको किताब मोहन राईले अनुवाद गरेकोमा आफूलाई ईष्र्या लागेको बताउँदै यो किताब अगाडि राखेर मात्र पनि फिल्म निर्देशन गर्ने हो भने अहिले बनिरहेभन्दा उत्कृष्ट नेपाली फिल्म बनाउन सकिने धारणा राखेका थिए ।

‘हामी आर्ट सेक्टरमा काम गर्ने मान्छे पढ्ने कुरामा रुचि राख्दैनौँ । जन्मजात प्रतिभा लिएर आएका छौँ । मैले किन अरुको कुरा पढ्ने, सिक्ने भन्ने सोच छ । तर विश्वमा धेरै राम्रा राम्रा काम भइरहेका छन् । यो पुस्तक त्यस्ता धेरै राम्रा कामहरूको संश्लेषण हो,’ उनले भने, ‘जानेको कुरालाई झन् तिखार्नुपर्छ । यसरी तिखार्ने काम यस्तै पुस्तकले गर्छन् ।’

उनले पुस्तक दुई दशकअघि प्रकाशनअघि भएकाले पछिल्लो समयको ज्ञान यसमा नसमेटिए पनि अनुदित किताब हरेक फिल्मकर्मीको ‘बुकसेल्फ’मा हुनैपर्ने किताब रहेको जिकिर गरेका थिए ।

मोहन राईले दिग्गज फिल्मकर्मीसँगको अन्तर्वार्तामा आधारित ‘जक्स्टापोजिसन’ प्रकाशन गरेका छन् । धेरै वर्षपहिले सार्वजनिक यो पुस्तक सार्वजनिकीकरणमा पनि वक्ता रहेका लेखक अभि सुवेदीले मोहन राई आफ्नो प्रिय शिष्यमध्ये एक रहेको बताउँदै मोहनको सक्रियता लोभलाग्दो रहेको बताएका थिए । उनले किताबको अनुवादमा अलि क्लिष्ट शब्द प्रयोग भए पनि किताब फिल्मका लागि मात्र नभएर थिएटरका लागि पनि उत्तिकै उपयोगी रहेको बताएका थिए ।

‘यो किताब फिचर फिल्म निर्देशनमा केन्द्रित भए पनि मलाई यो किताबमा मन परेको कुरा के हो भने यसले सहकार्यको कुरामा जोड दिएको छ । जस्तो कि अहिले थिएटर र सिनेमामा यस्तो अभ्यास देख्न सकिन्छ,’ उनले भने, ‘थिएटरका मान्छे फिल्ममा गइरहेका छन् र फिल्मका मान्छे थिएटर गर्न इच्छुक छन् । यो किताबमा त्यस्ता कुराहरू सम्बोधित भएका छन् । यो मलाई राम्रो लाग्यो ।’

अनुवादक मोहन राईले आफूले सात–आठ वर्ष अगाडिदेखि यो पुस्तकमा काम गरिरहेको जनाउँदै विविध कारणले ढिलो भएको बताएका थिए । आफू यस्ता प्राज्ञिक काम निःशुल्क गर्न तयार रहे पनि यसमा संस्थागत संलग्नताको खाँचो रहेको बताएका थिए ।

‘म त निःशुल्क पनि यस्ता काम गर्न तयार छु । तर एकजनाले मात्र गरेर यो सम्भव हुन्छ जस्तो लाग्दैन । मैले मेरो अघिल्लो पुस्तक पनि प्रकाशनका लागि चलचित्र विकास बोर्ड धाएँ । तर ठोस उपलब्धि नभएपछि आफैँ प्रकाशन गर्न कस्सिएको हुँ,’ उनले भने । कार्यक्रममा लेखक मार्क ट्राभिसले पनि मोहन राईलाई अनुवादका लागि भिडियो सन्देशमार्फत  शुभकामना दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्