२८ वैशाख, काठमाडौ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल ले नेपाली लोकदोहोरी, सांगीतिक प्रस्तुति तथा सामाजिक सञ्जालमार्फत फैलिँदै गएको अश्लीलता र विकृतिप्रति कडा आपत्ति जनाएको छ ।
संस्थाका अध्यक्ष चन्द्रमणी गौतम र सचिव कमल सरगम द्वारा जारी ध्यानाकर्षण पत्रमा ज्योति मगरदेखि दोहोरी कार्यक्रममा भित्री वस्त्र देखाएर प्रस्तुति दिने कलाकारसम्मलाई तत्काल कारबाही गर्न माग गरिएको छ ।
संस्थाले हाल युट्युब, टिकटक, फेसबुकलगायत डिजिटल माध्यममा प्रसारण भइरहेका कतिपय दोहोरी कार्यक्रम, मेलामहोत्सव तथा सांगीतिक प्रस्तुतीकरणले नेपाली लोक संस्कृतिको मौलिकता, सामाजिक मर्यादा र सभ्यतामाथि गम्भीर असर पारेको निष्कर्ष निकालेको छ ।
विशेषगरी प्रकाश अधिकारीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको दोहोरी कार्यक्रममा प्रकाश अधिकारी र कोपिला छिनालद्वारा प्रस्तुत सामग्री, प्रयोग भएका शब्द, हाउभाउ तथा समग्र प्रस्तुतीकरणले नेपाली दोहोरी गीतको मौलिक मर्म र संस्कारमाथि आघात पुगेको संस्थाको ठहर छ । विज्ञप्तिमा उक्त सामग्री सस्तो चर्चा, भ्युज र आम्दानी केन्द्रित उद्देश्यले निर्माण गरिएको स्पष्ट देखिएको उल्लेख गरिएको छ ।
त्यसैगरी गुल्मी महोत्सवमा कलाकार ज्योति मगरले स्टेज प्रस्तुतीका क्रममा देखाएको गतिविधिप्रति पनि संस्थाले गम्भीर असन्तुष्टि जनाएको छ । सार्वजनिक कार्यक्रममा अश्लील हाउभाउ, भित्री वस्त्र प्रदर्शन तथा सामाजिक मर्यादाविपरीतका प्रस्तुतीकरणले गलत सन्देश प्रवाह गरेको भन्दै सम्बन्धित कलाकारमाथि तत्काल कारबाही गर्न माग गरिएको छ ।
त्यस्तै, धार्मिक स्थलमा मोडल रिया खड्काद्वारा गरिएको नृत्यप्रति पनि संस्थाले कडा आपत्ति जनाएको छ । धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएका स्थानमा गरिने गतिविधि मर्यादित र संस्कृतिप्रति संवेदनशील हुनुपर्ने भन्दै सम्बन्धित पक्षमाथि आवश्यक छानबिन तथा कानुनी कारबाहीको माग गरिएको छ ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले अश्लीलता, उत्तेजना र सस्तो लोकप्रियताका लागि नेपाली लोक संस्कृतिलाई प्रयोग नगर्न सम्पूर्ण कलाकार, सर्जक र प्रस्तोताहरुलाई चेतावनी दिएको छ । साथै नेपाली मौलिक संस्कृति, सभ्यता र सामाजिक मर्यादाको सम्मान गर्दै सुसंस्कृत सामग्री मात्र सार्वजनिक गर्न आग्रह गरिएको छ । विज्ञप्तिमै यस्तो लेखियो, हेर्नुहोस् ।












