
काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुने भएको छ ।
निर्वाचन समितिले बुधबार हुने निर्वाचनका लागि सोमबार नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ ।
आज दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार उम्मेदवारको प्रथम नामावली आज दिउँसो ३ः३० बजे प्रकाशन हुनेछ भने दिउँसो ३ः३० देखि ४ बजेसम्म उम्मेदवारको नामावलीमा दाबीविरोध हुनेछ ।
दिउँसो साढे ४ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ भने आज साँझ ५ः४५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।
संसदीय दलको नेताका मतदान भने बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ । संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने ठानिएको छ ।
तर, पछिल्लो पटक नेता शेखर कोइराला पनि चुनाव लड्नसक्ने ठानिएको छ । मनोनयनको समयअघि नै शीर्ष नेतृत्वबीच सहमतिको प्रयास भइरहेको छ ।
संस्थापन पक्ष सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई नै सर्वसम्मत बनाउन प्रयासमा छ । तर, देउवाविरुद्ध उम्मेदवार खडा गर्न इतर समूहमा दौडधुप जारी छ ।
संस्थापन इतरबाट शेखर कोइराला र गगन थापा दुवैले दाबी गरिरहेकाले एकजनामात्र उभ्याउने गरी नेताहरू सहमतिको प्रयासमा छन् । आज पनि शेखर-गगन समूहका नेताहरुको बैठक होटल एम्बास्डरमा जारी छ ।
कांग्रेस संसदीय दलको नेताको चुनावमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकबाट ३२ सांसद मतदाता छन् ।