काठमाडौं : समय नै नपुगी उखु सुक्न थालेपछि बाराका किसान आन्दोलित भएका छन् । उनीहरुले शनिबार मानवत मटिअर्वा सडकखण्ड एक घण्टा अवरुद्ध पारेका हुन् ।
श्रीपुरघाट चोकमा सडकमै सुकेको उखु जलाएर उनीहरुले प्रदर्शन गरेका थिए । दिउँसो साढे १ बजेदेखि साढे २ बजेसम्म सडक अवरुद्ध पारेर प्रदर्शन गरिएको उखु किसानले बताएका छन् । रिलायन्स सुगर मिल र उखु उत्पादक संघले मिलेर गुणस्तरहीन बिउ दिएका कारण आफूहरु समस्यामा परेको उनीहरुले आरोप लगाएका छन् ।
उद्योग र किसान संघका प्रतिनिधिहरुसँग छलफल गर्न खोज्दा उनीहरु लुकेर बसेकाले बाध्य भएर सडकमा चक्काजाम गरेको किसानको तर्क छ । प्रदर्शनमा सहभागी किसान शशीकान्त यादवले भारत सरकारले प्रतिबन्ध लगाएको उखु दबाव दिएर किसानलाई रोप्न लगाउँदा नोक्सानी भएको गुनासो गरे ।
आफ्नो मात्रै ३ विघाको उखुमा रेडरडको समस्या देखिएको बताउँदै उनले रिलायन्सले बीऊ दिएको क्षेत्रभरि नै यस्तो समस्या देखिएको बताए । चिनी बढी उत्पादन हुने भएकाले रिलायन्स उद्योगले किसान संघसँग मिलेर किसानलाई डुबाएको आरोप उनको छ ।
प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बीऊ राम्रो नपरेकोले उखु सुकेको भन्दै किसानले क्षतिपूर्तिको माग राखेर केहिबेर सडक अवरुद्ध गरेको बताए । किसानलाई सम्झाई बुझाई गरेर बाटो खुलाएको बताउँदै उनले समस्या समाधानका लागि भोलि प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा सरोकारवालाको बैठक राखिएको समेत जानकारी दिए ।
किसान शशीकान्त यादवले छलफलका लागि उखु किसानलाई आइतबार बिहान १० बजे मिलको चौरमा किसानलाई भेला हुन आग्रह गरिएको बताए ।











