काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनतासामू चुनावमा गरेका प्रतिबद्धता पूरा गर्नू आजको आवश्यकता रहेको बताउनुभएको छ ।
शनिबार भक्तरपुरमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले चुनाव जित्नु मात्र ठूलो कुरा नभएकाले चुनावमा गरेका प्रतिबद्धता पूरा गर्नू मूख्य कुरा भएको बताउनुभएको हो । उहाँले जनताका आवाज सुनेर सम्भव भएसम्म समस्यालाई सम्बोधन गर्न समेत आग्रह गर्नुभयो । अध्यक्ष नेपालले विगतमा जनतालाई पुरा हुन नसक्ने आश्वासनहरु दिइएको बताउँदै अब धेरै आश्वासन दिँदा पनि गाह्रो हुने बताउनुभयो । उहाँले जनताका असीमित आकांक्षालाई पूरा गर्न नसकेपनि गर्नैपर्ने कुराका निम्ति सक्दो कोसिस गर्नुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो ।
त्यस्तै अध्यक्ष नेपालले विश्वव्यापी मन्दीको असर नेपालमा पनि परेकाले देशको अर्थतन्त्र संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको बताउनुभयो । उहाँले देशको अर्थतन्त्र सुधार गर्न र राष्ट्रिय पुँजीलाई प्रोत्साहन दिन समीक्षा गर्नु आवश्यक रहेको धारणा राख्नुभयो । कार्यक्रममा भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएका कांग्रेसका सांसद दुर्लभ थापाले मंसिर ४ को निर्वाचन मार्फत स्थिर सरकार निर्माण गरी सम्वृद्धिको बाटो तर्फ लाग्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । उहाँले देशले अब बन्द, हड्ताल र अस्थिरता थेग्न नसक्ने भन्दै स्थायित्व मार्फत सम्वृद्धितर्फ जानुको विकल्प नरहेको समेत बताउनुभयो ।
त्यस्तै थापाले अहिले किसानलाई समयै मल उपलब्ध गराउन नसकिएको भन्दै जनताका सामान्य मागलाई सम्बोधन गर्न सके अर्को निर्वाचनपछि मुलुकले आर्थिक रुपमा फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।












