काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न जातजातीका भाषाभाषी र मौलिक सँस्कृति मुलुकको गौरव भएको बताउनुभएको छ ।
१९ औं राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमाका अवसरमा बिहिबार काठमाडौंको बसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विभिन्न जातजातीका भाषाभाषी र मौलिक सँस्कृति मुलुकको गौरव भएको बताउनुभएको हो । उहाँले ज्यापु समुदायले नेपालमा मौलिक कला, संस्कृति र कला कौशलको क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै प्रशंसा समेत गर्नुभयो । प्रधानमन्त्री देउवाले मौलिक कला र संस्कृतिलाई जोगाउनु सबैको कर्तव्य भएको भन्दै नेपाल सरकारले ज्यापु संस्कृतिको विकासका लागि अक्षय कोष स्थापना गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले संस्कृति र सम्पदाको जगेर्ना गर्न सकेमात्र पहिचान कायम गर्न राष्ट्रलाई चिनाउन सकिने बताउनुभयो । उहाँले सरकारले संस्कृति र सम्पदाको विकास र संरक्षणको लागि अघि बढाएको कामलाई जनस्तरबाट पनि संगसँगै लैजान सकेमात्र संस्कृति र सम्पदाको जगेर्ना गर्न सकिने धारणा राख्नुभयो । आफ्नो मन्त्रालयले पर्यटन क्षेत्रको विकास गर्न संस्कृति र सम्पदालाई आधार बनाएर अघि बढ्नुपर्छ भन्ने नीति अघि सारेको बताउनुभयो ।





