काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर प्लेअफ २०२६ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार प्रतियोगिताका लागि टोली सार्वजनिक गरेको हो। घोषित टोलीमा कप्तान सन्दीप लामिछानेसहित आसिफ शेख, अर्जुन कुमाल, ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतम रहेका छन्।
आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म नेपालमा आयोजना हुने प्रतियोगितामा नेपालसहित नामिबिया, क्यानडा, संयुक्त अरब इमिरेट्स (यूएई), इटाली, युगान्डा, जर्सी र कुवेत गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताका खेलहरू काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र माथिल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।
राउन्ड रोबिन प्रणालीमा हुने प्रतियोगितामा प्रत्येक टोलीले अन्य सातवटै टोलीसँग एक–एक खेल खेल्नेछ। प्रतियोगिताको शीर्ष चार स्थानमा रहने टोलीले सन् २०२७ मा आयोजना हुने विश्वकप ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्नेछन्।
नेपालले डिसेम्बर ४ मा इटालीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। त्यसपछि डिसेम्बर ६ मा युगान्डा, १० मा यूएई, १२ मा जर्सी, १४ मा क्यानडा, १८ मा नामिबिया र डिसेम्बर २१ मा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।
घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामार्फत नेपालले विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने लक्ष्य राखेको छ।











