काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापासहित शीर्ष नेता, व्यवसायी तथा पूर्वप्रधानन्यायाधीशविरुद्ध झुटा बयान दिन दबाब दिँदै आफूलाई शारीरिक तथा मानसिक यातना दिइएको दाबी गर्दै इनम सापकोटाले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्।
आफू र आफ्नो परिवारको जीवनरक्षा गर्न माग गर्दै सापकोटाले पत्नी कविता पाण्डे (सापकोटा) मार्फत आयोगमा उजुरी दर्ता गराएका हुन्।
यसअघि कांग्रेसको आधिकारिकता दिलाउन १८ करोड रुपैयाँ बुझाएको दाबी गरिएको सापकोटासँग सम्बन्धित एउटा अडियो सार्वजनिक भएको थियो। उक्त अडियो सार्वजनिक भएपछि नेपाली कांग्रेसले प्रधानमन्त्रीका सल्लाहकारहरूको योजनामा सुनियोजित रूपमा अडियो रेकर्ड गराइएको भन्दै त्यसको खण्डन गरेको थियो। बिचौलियाको आरोपमा पक्राउ परेका सापकोटाले अहिले मानव अधिकार आयोगमा उजुरी दिएपछि आफूलाई धम्की र यातना दिएर त्यस्ता विषयमा बोल्न बाध्य पारिएको दाबी गरेका हुन्।
आयोगमा दर्ता गरिएको निवेदनअनुसार गत असोज १४ गते नयाँ दिल्ली जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका बेला प्रहरीले अन्तिम सुरक्षा जाँचस्थलबाटै उनलाई नियन्त्रणमा लिएको थियो। त्यसलगत्तै आफूसँग रहेका दुईवटा मोबाइल फोन खोसिएको, आँखामा कालोपट्टी बाँधेर अज्ञात स्थानमा पुर्याइएको र असोज १५ गते साँझसम्म विभिन्न विषयमा बयान दिन निरन्तर दबाब दिँदै मानसिक यातना दिइएको सापकोटाको दाबी छ।
निवेदनमा कांग्रेस सभापति गगनकुमार थापा, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, होटल हिमालयका नवीन तुलाधर तथा सर्वोच्च अदालतमा कार्यरत केही न्यायाधीशविरुद्ध प्रमाण र बयान दिन दबाब दिइएको उल्लेख छ।
तीमध्ये केही व्यक्तिसँग राम्रो सम्बन्ध रहेको, केही आफ्ना गुरु तथा शिक्षकसमेत रहेको र कतिपयलाई चिन्दै नचिनेको बताउँदा प्रहरीले उनीहरूविरुद्ध प्रमाण र बयान दिए रिहा गरिदिने, अन्यथा परिवारलाई समेत नराम्रो हुने भन्दै ज्यान मार्ने धम्की दिएको सापकोटाको आरोप छ।
बयान दिन अस्वीकार गरेपछि लामो समय जेलमा राख्ने गरी झुटा मुद्दा लगाउने र परिवारलाई समेत खतरा पुर्याउने चेतावनी दिइएको उनको भनाइ छ। केही कुरा पढ्न लगाएर तयार पारिएको कागजमा जबरजस्ती हस्ताक्षर गराइएको पनि निवेदनमा उल्लेख छ।
त्यसपछि असोज १६ गते हतकडी लगाएर काठमाडौंको पानीपोखरीस्थित निवासमा खानतलासीका लागि लगिएको र गलत विवरण राखेर फर्जी बरामदी मुचुल्का तयार गरिएको सापकोटाले दाबी गरेका छन्। विमानस्थलमै नियन्त्रणमा लिइएको मोबाइल फोन घरबाट बरामद भएको देखाउन खोजिएको तथा सुटकेसबाट विदेशी मुद्रा फेला परेको भन्दै झुटा विवरण तयार पारिएको उनको आरोप छ। त्यसपछि पुनः आँखामा पट्टी बाँधेर जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएको उनले निवेदनमा उल्लेख गरेका छन्।
सापकोटाले आफूलाई गैरकानुनी रूपमा नियन्त्रणमा लिने, झुटा बयान दिन दबाब दिने, यातना दिने तथा फर्जी मुचुल्का तयार गर्ने कार्यमा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाही गर्न आयोगसँग माग गरेका छन्। साथै आफ्नो गोपनीयता तथा मौलिक हकको संरक्षण गर्दै आफू र परिवारको जीवनरक्षाका लागि तत्काल आवश्यक पहल गरिदिन अपिल गरेका छन्।
राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले सापकोटाको तर्फबाट उजुरी दर्ता भएको पुष्टि गर्दै यस विषयमा आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।










