नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने, आइतबारदेखि तुइनखोलामा पहिरो रोकथामको काम सुरु

खबर बुक
  • ख-
  • ख
  • ख+

१२ मंसिर, चितवन । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न भोलि आइतबारदेखि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो।

पहिरो रोकथामको काम गर्दा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै उक्त समयमा नारायणगढ–मुग्लिङ सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिनुभयो।

तुइनखोला क्षेत्रमा निरन्तर पहिरो खस्ने समस्या देखिएपछि दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले विशेष प्रविधि अपनाएर रोकथामको काम अघि बढाउन लागेको हो। वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि रोकथामका उपाय अपनाउन लागिएको कार्यालयले जनाएको छ।

पहिरो नियन्त्रणका लागि ठूला ढुङ्गा हटाएर भिरको भिरालो भाग व्यवस्थापन गर्ने, किला रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि प्रयोग गरिनेछ। यस्तै, भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ अर्थात् तेर्सो निकास र जैविक प्रविधिबाट भिरको संरक्षण गरिनेछ।

स्लोपको प्रकृतिअनुसार द्विआयामिक तथा त्रिआयामिक ढाँचामा जैविक इन्जिनियरिङका उपाय अपनाइने र पहिरो रोकथामका लागि मुख्य रूपमा नेलिङ प्रविधि प्रयोग गरिने सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माले बताउनुभयो।

गत असोजदेखि रोकिएको तुइनखोला पहिरो रोकथामको काम पुनः सुरु गर्न लागिएको हो। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा तुइनखोलामा काम गरिएको थियो। तर कृष्णभीरमा सडक सञ्चालनमा आएपछि तुइनखोलामा आवागमन सहज बनाउन काम रोकिएको शर्माले बताउनुभयो।

उहाँका अनुसार सडकको अवस्था हेर्दा कम्तीमा १५ दिनसम्म सडक बन्द गरेर काम गर्नुपर्ने देखिएको छ। यद्यपि, प्राविधिक मूल्याङ्कनपछि कति समय सडक बन्द गर्ने भन्ने टुङ्गो लाग्नेछ। तत्कालका लागि भने अर्को सूचना जारी नभएसम्म दैनिक पाँच घण्टा सडक बन्द गरिनेछ।

यसैबीच, पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङनजिकै घोप्टेभीरमा भइरहेको काम भोलिसम्म सम्पन्न हुने र पर्सिदेखि राजमार्ग सञ्चालनमा आउने सडक डिभिजन कार्यालयले जनाएको छ। घोप्टेभीरको काम सकिएपछि तुइनखोलामा पहिरो रोकथामको काम अघि बढाइनेछ।

प्रशासनका अनुसार काठमाडौंबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहनेछ। नारायणगढ–मुग्लिङ सडक बन्द हुँदा यात्रुहरूलाई पर्न सक्ने असुविधालाई ध्यानमा राख्दै प्रशासनले यात्राको समय व्यवस्थापन गरेर मात्रै यात्रा गर्न अनुरोध गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्