काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण बानेश्वर वितरण केन्द्रले आफ्नो कार्यक्षेत्रअन्तर्गतका विभिन्न स्थानमा आज मङ्सिर १२ गतेदेखि १५ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।
काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत विद्युत् वितरण प्रणाली भूमिगत गर्ने काम भइरहेको छ। भूमिगत कार्य सम्पन्न भएका केबलमा आवश्यक संरचना जडान, उच्च तथा न्यून भोल्टेजका केबल जडान, केबल कनेक्सन, बसबार व्यवस्थापन तथा विद्युत् चार्ज गर्ने काम गर्न विद्युत् कटौती गर्न लागिएको वितरण केन्द्रले जनाएको छ।
प्राधिकरणका अनुसार तोकिएका सबै दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।
आज शनिबार आलोकनगर मार्ग, आलोक मध्य मार्ग, आलोक तारा मार्ग, सावित्री मार्ग तथा नापी विभाग क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहनेछ।
यस्तै, भोलि आइतबार शङ्खमूल मार्ग क्षेत्रमा विद्युत् कटौती हुनेछ भने पर्सि सोमबार बुद्धनगर र बिजुली बजार क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहनेछ।
त्यसैगरी, मङ्सिर १५ गते मंगलबार ३१ नम्बर वडा कार्यालय क्षेत्र र तीनकुने तरकारी बजार क्षेत्रमा विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरण बानेश्वर वितरण केन्द्रले जनाएको छ।
विद्युत् वितरण प्रणाली भूमिगत गर्ने तथा आवश्यक प्राविधिक काम सम्पन्न गर्न विद्युत् कटौती गर्न लागिएकाले सम्बन्धित क्षेत्रका उपभोक्तालाई आवश्यक तयारी गर्न प्राधिकरणले अनुरोध गरेको छ।











