ओलीको चेतावनी : ‘लोकतन्त्र र राष्ट्रिय अस्मिताको पुनर्प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने हुन्छ’

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा लोकतन्त्र मासिएको र राष्ट्रिय अस्मिता कमजोर पारिएको दाबी गर्दै त्यसको पुनर्प्राप्तिका लागि आन्दोलन आवश्यक रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कमिटीमा नवमनोनित सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकारविरुद्ध सडकमा उत्रिनुपर्ने परिस्थिति निर्माण भइरहेको बताए ।

‘अहिले नेपालमा लोकतन्त्र मासिएको छ, खुँडा चलाइएको छ । राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको छ,’ उनले भने, ‘यस्तो स्थितिमा हामीले यी चिजहरूको पुनर्प्राप्ति गर्नु अनिवार्य सर्त हो । बलजफ्ती दमन गरिन्छ भने त्यसलाई अस्वीकार गर्दै प्रतिवादमा उत्रिनुपर्ने हुन्छ, त्यसैलाई आन्दोलन भनिन्छ ।’

ओलीले आन्दोलनको अर्थ लुटपाट वा आगजनी नभई निरस्त्र जनतामाथि सङ्गठित शक्तिले गर्ने दमनको प्रतिवाद भएको स्पष्ट पारे ।

सम्बोधनका क्रममा उनले एमालेविरुद्ध चौतर्फी घेराबन्दी र षड्यन्त्र अझै जारी रहेको दाबी गरे । २०७७ सालदेखि नै पार्टी कब्जा गरेर ध्वस्त पार्ने योजना सुरु भएको उल्लेख गर्दै उनले २०७८ सालमा पार्टी फुटाइएको र २०७९ को निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी गरिएको बताए ।

‘हामीविरुद्धको घेराबन्दी अझै सिद्धिएको छैन, यो एकदमै चालु छ । सामाजिक सञ्जालमार्फत हाम्रो चरित्र हत्या गर्ने र जनताको नजरमा गिराउने काम भइरहेको छ,’ ओलीले भने ।

गत निर्वाचनमा विरोधीका सबै षड्यन्त्रलाई चिर्न नसक्दा पार्टी केही पछाडि परेको स्वीकार गर्दै उनले आगामी दिनमा त्यस्ता षड्यन्त्रलाई टिक्न नदिने गरी अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

समाजवादी आन्दोलनलाई समाप्त पार्ने उद्देश्य राख्नेहरू ‘मूर्ख’ भएको टिप्पणी गर्दै ओलीले कम्युनिस्ट आन्दोलन सत्य, न्याय र मानवतावादको आन्दोलन भएको दाबी गरे ।

नवमनोनित केन्द्रीय सदस्यहरूलाई निर्देशन दिँदै उनले विगतको इतिहास र योगदानको ब्याज खाएर मात्रै अब पार्टीमा टिक्न नसकिने चेतावनीसमेत दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्