बूढीगण्डकीमा बाढी आउनुअघि जमिन हल्लिएको संकेत, भूकम्पको पुष्टि भएन

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा गेग्रानसहितको आकस्मिक बाढी आउनुअघि उत्तरी क्षेत्रका बासिन्दाले जमिन हल्लिएको महसुस गरेको बताएका छन्। अमेरिकाको अर्थस्कोप कन्सोर्टियमको भूकम्प अनुगमन प्रणालीमा पनि नेपालको ककनी स्टेसनले जमिनको कम्पनसम्बन्धी तरङ्ग रेकर्ड गरेको देखिएको छ।

अर्थस्कोपको प्रणालीमा विश्वका विभिन्न स्थानमा जडान गरिएका सिस्मोमिटरबाट प्राप्त जमिनको कम्पनसम्बन्धी तथ्यांक उपलब्ध हुन्छ। उक्त प्रणालीमा नेपालको ककनी स्टेसनबाट पनि कम्पनको संकेत देखिएको हो।

प्रणालीमा देखिएको विवरणअनुसार विश्व समन्वित समय (यूटीसी) अनुसार शनिबार राति १०:४० देखि १०:४५ बजेको बीचमा जमिनको कम्पन रेकर्ड भएको संकेत छ। यो नेपाली समयअनुसार आइतबार बिहान पौने ४ बजेको आसपास हो।

तर उक्त कम्पन चुमनुब्रीमा गएको पहिरोका कारण उत्पन्न भएको हो वा कम्पनपछि पहिरो गएको हो भन्ने विषयमा स्पष्ट भइसकेको छैन।

राष्ट्रिय भूकम्प मापन केन्द्रमा छैन रेकर्ड

ककनी स्टेसनमा कम्पनको संकेत देखिए पनि काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अभिलेखमा भने उक्त कम्पन भूकम्पका रूपमा रेकर्ड भएको छैन।

केन्द्रको भूकम्प मापन तथा साइस्मिक हजार्ड मूल्यांकन शाखाका वरिष्ठ भूकम्पविद् डा. मुकुन्द भट्टराईले पछिल्लो २४ घण्टामा नेपालमा भूकम्प रेकर्ड नभएको जानकारी दिएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार यस विषयमा केन्द्रका भूगर्भविद्सँग बुझ्दा गोरखा वा आसपासको क्षेत्रमा नयाँ भूकम्प रेकर्ड नभएको जानकारी प्राप्त भएको थियो। पहिरोको आवाजका कारण जमिनमा कम्पन उत्पन्न भएको हुन सक्ने उनीहरूको अनुमान रहेको उप्रेतीले बताएका छन्।

अर्थस्कोपमा देखिएको तरङ्ग के हो ?

भूगर्भविद्हरूका अनुसार पहिरो, चट्टान खस्ने घटना वा बाढीका कारण उत्पन्न हुने कम्पन पनि भूकम्प मापन गर्ने उपकरणमा अभिलेखित हुन सक्छ। तर त्यस्तो कम्पनलाई आवश्यक वैज्ञानिक विश्लेषणबिना भूकम्पका रूपमा वर्गीकरण गर्न मिल्दैन।

यसअघि रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका बेला पनि नेपाल–तिब्बत सीमा क्षेत्रमा ५ म्याग्निच्युडको भूकम्प मापन भएको भनिएको थियो। पछि उक्त तरङ्ग भूकम्पका कारण नभई हिमनदीको एउटा भाग जमिनमा बज्रिँदा उत्पन्न भएको पत्ता लागेको थियो।

गोरखाको उत्तरी क्षेत्रमा महसुस गरिएको कम्पन पनि भोटेकोशीमा देखिएको घटनासँग मिल्दोजुल्दो हुन सक्ने भूगर्भविद् डा. लोकविजय अधिकारीले बताएका छन्। उनका अनुसार गोरखा वा आसपासको क्षेत्रमा पछिल्लो समय भूकम्प रेकर्ड भएको छैन। यद्यपि, घटनाको विस्तृत अध्ययन हुन बाँकी छ।

भूकम्प मापन गर्ने उपकरणले जमिनको अत्यन्त सानो विस्थापन तथा कम्पनसमेत अभिलेख गर्न सक्छ। ठूलो परिमाणमा माटो, ढुङ्गा वा हिउँ खस्दा अथवा बाँध फुटेर नदीमा तीव्र बहाव उत्पन्न हुँदा पनि जमिनमा कम्पन पैदा हुन सक्छ।

यस्ता घटनाबाट उत्पन्न तरङ्गको अध्ययन गर्ने विधिलाई वातावरणीय भूकम्प विज्ञान भनिन्छ। यस विधिबाट पहिरो गएको समय, कम्पनको अवधि र पहिरोमा खसेको पदार्थको परिमाणसमेत अनुमान गर्न सकिन्छ।

बूढीगण्डकीमा आएको आकस्मिक बाढी र त्यसअघि देखिएको जमिनको कम्पनबीच सम्बन्ध छ वा छैन भन्ने विषयमा भने थप वैज्ञानिक अध्ययन आवश्यक देखिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्