गोरखा । बुढीगण्डकी नदीमा आज बिहान आएको ठुलो बाढीले गोरखाको माछिखोला बजारमा ठुलो क्षति पुर्याएको छ । बाढीले केरौंजा जाने झोलुंगे पुल बगाएको छ भने सल्लेरी र जगत बजारमा समेत ठुलो क्षति पुर्याएको छ ।
चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा गएराति सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ । अहिले पनि नदी थुनिने र खुल्ने भैरहेको स्थानीयले बताएका छन् ।
नदीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई तत्काल सुरक्षित तथा उच्च स्थानमा जान आग्रह गरिएको थियो ।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले आइतबार एकाबिहानै नदीमा ठुलो आवाजसहित पानीको बहाव बढेको जानकारी दिए । बाढी तल्लो तटीय क्षेत्रतिर गइरहेकाले उनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नबस्न सबैलाई अनुरोध गरेका छन् ।










