विपद्को वास्तविक स्वरूप पहिचान गर्न विज्ञमार्फत अध्ययन गराउनुपर्छ : रवि लामिछाने

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पछिल्लो विपद्को वास्तविक स्वरूप पहिचान गर्न सरकारले विज्ञमार्फत अध्ययन तथा अनुसन्धान गराउनुपर्ने बताएका छन्।

सर्वदलीय बैठकपछि बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले पछिल्लो विपद् जटिल र प्राविधिक प्रकृतिको भएकाले विज्ञको अध्ययन आवश्यक रहेको बताए।

उनका अनुसार सर्वदलीय बैठकमा पनि विपद्को प्रकृति पहिचान तथा नामकरणका लागि विज्ञको अध्ययन आवश्यक रहेको विषयमा छलफल भएको थियो। सरकारले विज्ञहरूको सुझावका आधारमा वैज्ञानिक अध्ययन गरी घटनाको वास्तविक अवस्था चाँडै स्पष्ट पार्नुपर्ने उनले बताए।

लामिछानेले प्रधानमन्त्री बालेन शाहले प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित पक्षसँग निरन्तर संवाद र समन्वय गरिरहेको भन्दै सरकारको भूमिकाको बचाउ गरे। प्रधानमन्त्रीले भेटेर तथा फोनमार्फत प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिइरहेको उनको भनाइ छ।

विपद्पछिको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका काममा सरकारका विभिन्न निकायबीच समन्वय भइरहेको पनि लामिछानेले बताए। गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलगायत मन्त्रालय, विभाग र सम्बन्धित सरकारी संयन्त्रहरू विपद् व्यवस्थापनमा सक्रिय रहेको उनले जानकारी दिए।

उनका अनुसार सरकारले प्रारम्भमा खोजी तथा उद्धारलाई प्राथमिकता दिएको थियो भने अहिले राहत वितरणसँगै पुनर्स्थापना र पुनर्निर्माणको दीर्घकालीन काम अघि बढिरहेको छ।

भौगोलिक जटिलताका कारण राहत वितरणमा केही व्यावहारिक कठिनाइ देखिन सक्ने भए पनि राहत कार्य निरन्तर जारी रहेको लामिछानेले बताए।

रास्वपाभित्रैबाट सरकारको कामप्रति हुने आलोचनाबारे उनले पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो रहेकाले नेताहरू तथा सांसदहरूले आफ्ना धारणा स्वतन्त्र रूपमा राख्न पाउने बताए। आफ्नै सरकारको आलोचना गर्नु पनि लोकतान्त्रिक अभ्यास भएको उनको भनाइ छ।

सर्वदलीय बैठकमा विपद् व्यवस्थापन, सरकारका कामको समन्वय, राहत तथा पुनर्स्थापना र जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो। बैठकमा सर्वदलीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने तथा संसद्भित्र विशेष समिति गठनका लागि पहल गर्ने विषयमा समेत छलफल भएको लामिछानेले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्