गगन थापाको आग्रह : संसदीय समितिको प्रतिवेदन सरकारले गम्भीरतापूर्वक लिनुपर्छ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित विपद्बारे काम गर्न गठन हुन लागेको संसदीय समितिले तयार पार्ने प्रतिवेदनलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।

सिंहदरबारमा सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले प्रधानमन्त्री बालेन शाहले संसद् र संसदीय समितिको मर्यादा कायम राख्नुपर्नेमा जोड दिए।

उनले प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गर्न नहुने भन्दै प्रमुख प्रतिपक्ष दलका नेताले बोलाउँदा समेत प्रधानमन्त्रीको उपस्थिति नदेखिएको दाबी गरे।

‘सम्माननीय प्रधानमन्त्रीजीको जुन खालको रवैया देखिन्छ, सकेसम्म संसद्लाई पूर्ण रूपमा बेवास्ता गर्ने, प्रमुख प्रतिपक्ष दलको नेताले बोलाएको बेलामा उहाँको उपस्थिति छ भन्ने लाग्दैन,’ थापाले भने।

संसदीय समितिलाई जिम्मेवारी दिएर काम लगाउने तर समितिले तयार पारेको प्रतिवेदनलाई सरकारले बेवास्ता गर्ने अवस्था आउन नहुने उनको भनाइ छ।

थापाले आफूहरू सरकारलाई बिनासर्त समर्थन गर्दै संसदीय समितिमा बसेर काम गर्न तयार रहेको बताए। समितिले तयार पारेको प्रतिवेदन सरकारले ग्रहण गरी त्यसका आधारमा आवश्यक काम गर्नुपर्ने उनले बताए।

‘हामी त अनकन्डिसन सरकारलाई सपोर्ट गरिरहेका छौं। संसदीय समितिमा बसेर काम पनि गर्छौं। समितिले रिपोर्ट पनि तयार गर्ला,’ उनले भने, ‘तर, त्यो रिपोर्ट बुझ्ने, ग्रहण गर्ने वा त्यसको आधारमा काम गर्ने कुरामा प्रधानमन्त्रीले सामान्य छलफलमा पनि रुचि नराख्ने अवस्था नहोस्।’

थापाले संसदीय समिति गठन गर्नुअघि नै प्रधानमन्त्रीलाई समितिको कार्यक्षेत्र र जिम्मेवारीबारे जानकारी गराउनुपर्ने बताए। विगतको संसदीय अभ्यासमा पनि समिति गठन गर्दा सरकार प्रमुखसँग संवाद गर्ने गरिएको उनले उल्लेख गरे।

सरकार र संसद्बीच समन्वय आवश्यक रहेको भन्दै उनले अहिले नै प्रधानमन्त्रीसँग संवाद गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

‘एकातिर हामी बैठक गरेर संसदीय समिति बनाउने, अर्कोतिर भोलि प्रधानमन्त्रीले त्यसलाई बेवास्ता गर्ने अवस्था नबनोस्,’ थापाले भने, ‘यो सकारात्मक नोटमा भनेको हो। अहिले नै यसबारे कुरा गरिराख्दा उहाँहरूलाई पनि सजिलो हुन्छ।’

उनले सरकारसँग मिलेर काम गर्न आफूहरू तयार रहेको स्पष्ट पार्दै संसदीय समितिको प्रभावकारिता कायम राख्न प्रधानमन्त्रीको समेत अपनत्व आवश्यक रहेको बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्