जलवायु संकटमा नेपालले ठूलो मूल्य चुकाइरहेको छ : काभ्रेका जिसस प्रमुख दिपक कुमार गौतम  (तस्विरहरु)

खबर बुक
  • ख-
  • ख+

३१ भदौ, काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा आयोजित जलवायु सम्मेलन २०८३ मा सहभागी हुँदै काभ्रेका जिल्ला समन्वय प्रमुख दिपक कुमार गौतमले जलवायु परिवर्तनका कारण नेपालले ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन्।

गौतमले जलवायु संकट सिर्जना गर्न नेपालको योगदान नगण्य भए पनि यसको गम्भीर असर भने नेपालजस्ता हिमाली मुलुकले ठूलो मूल्य चुकाएर भोग्नुपरिरहेको धारणा राखे। विकसित मुलुकहरूको उच्च कार्बन उत्सर्जन र अन्तर्राष्ट्रिय गतिविधिका कारण हिमाली देशहरू जलवायु परिवर्तनका प्रत्यक्ष पीडित बनेको उनको भनाइ छ।

उनले पछिल्लो समय रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा भएका विपद्ले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिले जलवायु संकटको गम्भीरता थप उजागर गरेको बताए। हिमालदेखि तराईसम्म मौसममा आएको परिवर्तन र बढ्दो प्राकृतिक विपद्ले नेपालमा यसको असर बहुआयामिक बन्दै गएको उनले उल्लेख गरे।

गौतमले जलवायु परिवर्तन अब नेपालको मात्र समस्या नभई अन्तर्राष्ट्रिय न्याय र जिम्मेवारीको विषय बनेको बताए। जलवायु संकटको जोखिममा रहेका मुलुकले भोग्नुपरेको क्षतिको उचित सम्बोधनका लागि विकसित राष्ट्रहरूको जिम्मेवारी र जवाफदेहिता आवश्यक रहेको उनको भनाइ थियो।

उनका अनुसार नेपालले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम र क्षतिबारे विश्व समुदायसमक्ष आफ्ना सवाललाई अझ सशक्त रूपमा उठाउनुपर्छ। जलवायु न्याय, क्षतिपूर्ति र प्रभावित समुदायको अधिकारका लागि नेपालले दृढ आवाज उठाउने समय आएको गौतमले बताए।

उनले जलवायु परिवर्तनको असर न्यूनीकरणसँगै प्रभावित क्षेत्र र समुदायको संरक्षण, अनुकूलन तथा विपद् व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्