हेटौंडा । हेटौंडाबाट काठमाडौं जाँदै गरेको विद्युतीय (ईभी) गाडी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सल्ले सुकौरामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार गाडीमा सवार ८ जनामध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको हो। बाँकी चार जनालाई उद्धार गरी उपचारका लागि पठाइएको छ।
उद्धार गरिएकामध्ये एक जनालाई हेटौंडा अस्पताल पठाइएको छ भने अन्यलाई काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।
मंगलबार दिउँसो करिब २ बजे दुर्घटना भएको हो। दुर्घटनामा परेको गाडी सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।











