सर्वोच्चबाट फिर्ता लगेको रिट सोमबार दर्ता गर्ने देउवा पक्षको तयारी, पूर्णबहादुर परामर्शमै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूह आन्तरिक छलफलमा छ। हिजो १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट पर्‍याएको भएपनि अन्तिम समयमा फिर्ता लगेको थियो।

सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदनलाई सच्याउने भन्दै हिजो फिर्ता लगेको थियो। फिर्ता लगेको रिटबारे कानून व्यवसायीले थप तयारी गरिरहेको नेता एनपी साउदले बताए।

उनले भने, ‘हिजो तयारी नपुगेकाले कानून व्यवसायी साथीले फिर्ता ल्याउनुभएको हो। त्यसलाई सच्चाएर सोमबार दर्ता गर्ने तयारी हुँदै छ।’

उनले सोमबार रिट दर्ता हुने दाबी गरे। त्यसो त हिजो देउवासँगै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको पनि रिट सर्वोच्च पुगेको देउवा पक्षका नेताहरूले दाबी गरेका थिए।

तर साँझ खड्काले आफूले रिट नलगेको प्रष्टीकरण दिए। उनले भनेका छन्, ‘मेरो तर्फबाट आज सर्वोच्च अदालतमा कुनै रिट दर्ताको लागि नगएको कुरा म सबैमा प्रस्ट पार्न चाहन्छु।’

सर्वोच्चले पुनरावलोकनको निस्सा समेत प्राप्त भई सकेको अवस्थामा विशेष महाधिवेशनको नामबाट बनेको केन्द्रीय कार्यसमितिले १५ औ महाधिवेशनको प्रक्रिया अगाडि बढाउन नसक्ने उनको भनाइ छ।

खड्काले भनेका छन्, ‘हालै गरेको निर्णय पार्टीको सम्पूर्ण एकताको अहिलेको ऐतिहासिक आवश्यकता र सर्वोच्च अदालतको पुनरावलोकन गर्ने आदेश दुवैको सरासर विपरीत छ भन्ने हाम्रो ठम्याई छ।’

अदालतले पुनरावलोकनबाट मुद्दाको अन्तिम किनारा नलगाउँदासम्म महाधिवेशनको सबै प्रक्रिया रोकी पाउँ भनी कानूनी प्रबन्ध बमोजिम रोक्काको लागि निवेदन लिएर जाने विषयमा कानून व्यवसायीहरूसँग गम्भीर परामर्शमा रहेको बताएका छन्। उनले चाँडै नै रिट निवेदन सर्वोच्च अदालतमा जाने जानकारी गराएका छन्।

यसअघि सँगै निवेदन लिएर जाने गरेको भएपनि राष्ट्रिय भेलापछि खड्का असन्तुष्ट छन्। भेलाले खड्कालाई पन्छाएर शशाङ्क कोइरालाले संयोजकको रूपमा अघि सारेको थियो।

खड्कानिकट एक नेताले सर्वोच्चमा रिट लानेबारे परामर्श भइरहेको बताए। पार्टी एकताबद्ध गरेर जानुपर्नेमा खड्काको जोड छ। तर नेता साउदले खड्काले पनि सोमबार नै दर्ता गर्ने तयारी गरिरहेको आफूहरूले सुनेको बताए।
उनले भने, ‘पूर्ण दाइले पनि सोमबार नै रिट लाने सुनेका छौँ। लैजानुहुन्छ होला।’

आज मात्रै कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको विवाद अदालतको ढोकाबाट नभई सानेपाको कोठामा समाधान गर्नुपर्नेमा जोड दिएका छन्। उनले संवादमा आउन आग्रह गरेका छन्।

उनले थपे, ‘असोजको महिनामा महाधिवेशन हुँदै छ। कसलाई आएर सभापति बन्न चाहनुहुन्छ, को आएर उपसभापति, महामन्त्री बन्न चाहनुहुन्छ, सबैलाई ढोका खुला छ। हामी त्यही कुराको लागि अपिल पनि गर्न चाहन्छौँ।’

उनीहरूले असोजमा महाधिवेशन गर्ने गरी पार्टीले अघि बढाएको कार्यतालिका रोक्न माग गरेका छन्। आधिकारिता विवादमा पुनः सुनुवाइ गर्न सर्वोच्चले निस्सासमेत दिइसकेको अवस्थामा त्यसको टुङ्गो नलाग्दासम्म महाधिवेशनसम्बन्धी काम अघि नबढाउन नमिल्ने देउवा पक्षको तर्क छ।

असोज १६–१९ मा महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ। इतर पक्षको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्