पैसाको अभावमा रणदिप हुड्डा ‘पुरूष यौनकर्मी’ खोजेका थिए बन्न तर आज छन् बलिउड स्टार

खबर बुक
  • ख-
  • ख+

मुम्बई, ४ भदौं ।  बलिउडका गम्भीर तथा सशक्त अभिनेताहरूमध्ये एक मानिने रणदीप हुड्डा आज ५० वर्ष पुगेका छन्।

पर्दामा सशक्त अभिनय र गहन भूमिकाका माध्यमबाट आफ्नो छुट्टै पहिचान बनाएका रणदीपको वास्तविक जीवनमा भने उनको अत्यन्तै संवेदनशील र परोपकारी पक्ष झल्किन्छ।

स्कुले शिक्षा पूरा गरेपछि रणदीप हुड्डा उच्च शिक्षाका लागि अष्ट्रेलियाको मेलबर्न गए। त्यहाँ उनले मार्केटिङमा स्नातक तहको अध्ययन पूरा गरे र त्यसपछि बिजनेस म्यानेजमेन्ट तथा ह्युमन रिसोर्सेसमा स्नातकोत्तर तहको अध्ययन सके।

तर, अष्ट्रेलियामा उनको समय कठिनाइले भरिपूर्ण थियो। आफ्नो दैनिक खर्च र पढाइको खर्च जुटाउन उनले विभिन्न किसिमका सानातिना कामहरू गरे।

अस्ट्रेलियामा रहँदा रणदीपले रेस्टुरेन्टमा भाँडा माझ्ने, वेटरको काम गर्ने, कार वाशमा गाडी सफा गर्ने र अबेर रातिसम्म ट्याक्सी चलाउने जस्ता कामहरू गरेका थिए । उनको संघर्ष यति चरम अवस्थामा पुग्यो कि, पैसाको चरम अभावका कारण एक समय उनले ‘जिगोलो’ अर्थात पुरुष यौनकर्मी बन्नेबारे समेत गम्भीरतापूर्वक सोचेका थिए।

‘मिड डे’ सँगको एक अन्तर्वार्तामा रणदीपले आफूले त्यहाँ जिगोलो बन्ने प्रयाससमेत गरेको खुलासा गरे। तर, जब एक एजेन्टले उनलाई एक जोडीलाई सेवा प्रदान गर्न भने, उनले त्यसलाई अस्वीकार गरेका थिए ।

अस्ट्रेलियामा आफ्नो पढाइ पूरा गरेर भारत फर्किएपछि, रणदीपले मुम्बईको एउटा एयरलाइन कम्पनीमा मार्केटिङको काम सुरु गरे। जागिरका साथै उनी नाटक र मोडलिङमा पनि संलग्न थिए। एक दिन मुम्बईमा एउटा नाटकको रिहर्सल गरिरहेका बेला प्रख्यात निर्देशक मीरा नायरको नजर उनीमा पर्यो। उनी रणदीपको अभिनय र व्यक्तित्वबाट निकै प्रभावित भइन्।

मीरा नायरले रणदीपलाई आफ्नो आगामी चलचित्र ‘मनसुन वेडिङ’ (२००१) को अडिसनका लागि बोलाइन्। अडिसनमा उनको अभिनयले उनलाई प्रभावित तुल्यायो र उनलाई एनआरआई नातेदार राहुल चड्ढाको भूमिकामा चयन गरियो। यसरी, सन् २००१ मा रणदीप हुड्डाले बलिउडमा पदार्पण गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्