करदाता प्रोत्साहन पुरस्कार : मोबाइलको कभर किन्दा ३५० रुपैयाँ खर्च, पुडासैनीलाई पर्‍यो १० लाख

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले पाएका छन् । आन्तरिक राजश्व विभागले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार मन्त्रालयमा उपहार घोषणा गरेको थियो ।

साउन महिनाको दोस्रो १६ दिनको हरेक दिनको एक-एक जना र सबै सहभागीमध्येबाट छनोट गरिएको एक जनालाई बम्पर गरि १७ जना उपभोक्ता छनोट गरिएको थियो ।

त्यसैमध्येका बम्पर उपहार पुडासैनीले जितेका हुन् । उनले मोबाइलको कभर र सिसा फेर्दा तिरेको ३५० रुपैयाँको कारोबार बम्पर उपहारमा छानिएको हो ।

पुडासैनी नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक पदमा बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत छन् । अर्थ मन्त्रालयसँग कुरा गर्दै उनले मोबाइलको कभर र सिसा मर्मत गर्दा तिरेको रकममा उपहार परेको बताए ।

‘मेरो घर बाराको सिमरा हो । नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक पदमा बागमती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत छु । मोबाइलको कभर र सिसामा मर्मत गर्न दुई तीनवटा पसल चहारेर गणेश इलेक्ट्रेनिक्स एण्ड मोबाइल सर्भिसमा पुगेको थिएँ । त्यहीँ गरेको कारोबारमा १० लाखको उपहार परेको थाहा पाएँ’, उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्