६ साउन, काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबलको महिला र पुरुष दुवै टोली अब एफआईबीको विश्व वरियतामा समावेश भएको छ ।
पाकिस्तानको इस्लामावादमा बुधबारलेदि सुरु भएको काभा पुरुष भलिबल च्याम्पियनसिपमा कजाखस्तान विरुद्ध पहिलो खेल खेलेपछि नेपाल एफआईभिबीको विश्व वरियतामा ८३औं स्थानमा रहेको हो ।
पहिलो पटक एफआईभिबीको विश्व वरियता मान्यता प्राप्त प्रतियोगिता खेलेपछि नेपालको पुरुष भलिबल टोलीले पनि छलाङ मार्दै वरियतामा अटाएको हो । यस्तै कजाखस्तान विरुद्ध ६ नयाँ खेलाडीले डेब्यु गरे । जसले नेपाली पुरुष भलिबलमा अब नयाँ अध्यायय पनि सुरु भएको छ ।
इस्लामावादस्थित गारिसन जिन्नाहा स्पोर्ट्स कम्प्लेक्समा भएको प्रतियोगिताको पहिलो खेलमै नेपालले कजाखस्तानलाई कडा टक्कर दिएको थियो । विश्व वरियतामा ६५औं स्थानको कजाखस्तानले सुरुवाती दुई सेट सहजै आफ्नो पक्षमा पार्दै जित नजिक पुगेको थियो ।
तर नेपाल सेटमा नेपालले सानदार पुनरागमन गर्यो । २४-२४ को बराबरीपछि टाईब्रेकमा उक्त सेट ३४-३२ ले आफ्नो पक्षमा पार्दै नेपाल खेलमा फर्कियो । चौथो सेट पनि सुरुवातदेखि अग्रता लिँदै २५-१९ ले आफ्नो पक्षमा पारेको नेपालले खेल २-२ को बराबरी गर्दै पाँचौ सेटमा पुर्याएको थियो ।
निर्णायक सेटमा पनि सुरुमा बराबरीको खेल भएपनि सामान्य गल्तीले गर्दा कजाखस्तानले खेलमा अग्रता लियो र त्यसलाई कायम राख्दै कजाखस्थानले १५-९ ले सेट आफ्नो पक्षमा पारेर खेल जितेको हो ।
पाँच सेटको थ्रिलर जितेपनि कजाखस्तानले २ अंक मात्र जोड्दा नेपालले पनि १ अंक जोडेको छ ।
यस खेलबाट नेपाली टिममा पहिलो पटक समावेश भएका ६ खेलाडीले नै राष्ट्रिय टिमबाट डेब्यु गरेका छन् ।
विश्व वरितयाको मान्यता प्राप्त महत्वपूर्ण प्रतियोगिता भएकोले पनि नेपाल भलिबल संघले जसरी पनि यो प्रतियोगिता खेल्नुपर्छ भनेर टिम सहभागि हुने निर्णय गरेको थियो ।
त्यसपछि मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका जगदिश प्रसाद भट्टले नेपाली टोलीलाई घरेलु कोर्टमै प्रशिक्षण दिएर काभा पुरुष भलिबलका लागि तयार पारेका थिए ।
दुई महिनाअघि भट्टकै प्रशिक्षणमा नेपालको महिला टोलीले काठमाडौंमा काभा महिला भलबिल च्याम्पियनसिप खेलेको थियो । विश्व वरियता मान्यता प्राप्त उक्त प्रतियोगितामा नेपाल चौथो हुँदै पदक जित्न नसकेपनि नेपाल वरियतामा समावेश हुँदै छिमेकी भारतलाई पछि पार्न सफल भएको थियो ।
पछिल्ला दुई काभाको प्रतियोगितापछि नेपालको महिला र पुरुष दुवै टिम हाल एफआईभिबीको विश्व वरियतामा समावेश भएको छ । जुन नेपाली भलिबलको लागि पनि ठूलो उपलब्धी हो ।
नेपालको महिला टोली हाल ६८औं वरियतामा छ भने भारत नेपालपछि ६९औं स्थानमा छ । काभा पुरुष भलिबल च्याम्पियनसिपको पहिलो दिनको तीनवटै खेल सकिएपछि नेपाल वरियतामा ८४औं स्थानमा रहेको छ । नेपाली भलिबलका लागि यो ऐतिहासिक क्षण समेत बनेको छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक दुवै टिम एफआईभिबी वरियतामा समावेश हुनु नेपाली भलिबलका लागि खुशीको कुरा भएको बताए । ‘महिला र पुरुष दुवै टिम एफआईभिबी वरियतामा समावेश हुनु नेपालको राष्ट्रिय खेल भलिबलको लागि गर्वको विषय हो । नेपाल भलिबल संघले पनि यसका लागि पहल गरेको छ,’ भट्टले कजाखस्तानसँगको खेलपछि इस्लामावादबाट अनलाइनखबरसँगको भने, ‘यसले नेपाली भलिबलमा राम्रो सम्भावना छ र अवसर पाएका धेरै गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेको छ ।’
विश्व वरियतामा समावेश हुँदाको फाइदा
एफआईभिबी विश्वक वरियतामा समावेश हुँदा यसको धेरै लाभ नेपाले लिन सक्छ । पहिलो कुरा विश्व वरियतामा समावेश हुँदा नेपाल पनि विश्व भलिबलको मानचित्रमा देखिन् । अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउने देखि नेपाली खेलाडीहरुले समेत अन्तर्राष्ट्रिय एक्सपोजर पाउने र प्रायोजकहरु समेत आकर्षित हुन सक्छ ।
नेपालको घरेलु भलिबलमा पनि पुरुष भलिबल अहिले खासै चर्चामा छैन भनेर धेरैले गुनासो गर्दै आएका छन् । तर विश्व वरियताले गर्दा पुरुष भलिबलको चर्चा पनि विस्तारै बढ्नेछ ।
महिला टोली पनि केही समयअघि वरियतामा समावेश हुँदै शीर्ष ६० भित्र पुगेको थियो । हालन नेपालको महिला टोली ६८औं स्थानमा छ ।
महिला टोली सेप्टेम्बरमा जापानमा हुने २०औं एसियन गेम्सको पनि छनोट भएको छ र त्यसैको तयारीमा छ ।
पुरुष टोलीले सन् २०१८ र २०२३ को पछिल्ला दुई एसियन गेम्स खेले पनि यसपटक भने छनोट हुन सकेन । तर अहिले एफआईभबीको विश्व वरियतामा समावेश हादा अब पुरुष टोलीले पनि अवसर पाउनेछ र अन्तर्राष्ट्रिय सहभागिताहरु बढ्नेछ ।
विश्व वरियता प्राप्त प्रतियोगिता खेल्दा नेपाललाई एसियन गेम्स लगायत अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नका लागि बाटो खुल्छ ।
वरियतामा समावेश भएपछि नेपालको पुरुष टोलीका लागि भलिबलको सर्वोच्च निकाय फेडेरेसन इन्टरनेसनल भलिबल (एफआईभीबी) र एसियाली भलिबल कन्फेडेरेसन (एभिसी) ले बयोजना गर्ने आधिकारिक प्रतियोगिताहरु र छनोट प्रतियोगिता पनि खेल्ने अवसर पाउनेछ ।
यस्तै वरियतामा समावेश भएपछि एसियाली च्याम्पियनसिप देखि ओलम्पिक छनोटसम्मको लागि प्रतिस्पर्धा गर्ने अवसर पाउनेछ ।
साथै आधिकारिक वरियतामा रहेका अन्य टोलीहरुसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरु खेल्ने र वरियतामा माथि ल्याउने अवसर पनि हुनेछ । साथै उच्च स्तरिय विदेशी टिमसँग खेल्दा अनुभव लिने र आफ्नो प्रतिभा देखाउने अवसर हुनेछ ।
यसैगरी एफआईभबीको वरियता प्राप्त राष्ट्र खेलाडीहरुलाई अन्तर्राष्ट्रिय व्यावसायिक लिगहरूमा खेल्नका लागि सम्झौता पाउन पनि सहज हुन्छ । नेपाली टोली विश्व मानचित्रमा देखिँदा अन्तर्राष्ट्रिय क्लब तथा स्काउटहरूको ध्यान नेपाली खेलाडीहरूतर्फ पर्न सक्छ ।
यसबाहहेक एफआईभिबीले आधिकारिक वरियतामा रहेका सक्रिए राष्ट्रहरुलाई अनुदान दिने देखि पूर्वाधार निर्माणमा समेत आर्थिक सहयोग प्रदान गर्छ ।
नेपालले राम्रो योजना बनाउन सकेमा नेपालमा आधुनिक प्रशिक्षण, विदेशी प्रशिक्षकको व्यवस्था, राष्ट्रिय टोलीको पूर्वाधार विकास र तल्लो तह (ग्रासरुट) देखि नै भलिबलको विकासमा सहयोग पुर्याउन सकिन्छ ।
यसैगरी वरियतामा समावेश भएपछि विभिन्न कर्पोरेट हाउस, प्रायोजकहरुको नजर पनि पर्नेछ । निजी क्षेत्रले पनि विस्तारै पुरुष खेलाडी र पुरुष भलिबलमा लगानी गर्ने वातावरण बन्नेछ ।
घरेलु भलिबलमा लगानी र राम्रो पूर्वाधार भएमा र नेपाली खेलाडीले पनि स्तरिय प्रशिषण र प्रतियोगिता खेल्ने हो भने नेपालको पुरुष भलिबलले पनि अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गर्दै नतिजा ल्याउन सक्छ ।
नेपाल भलिबल संघको स्वीकृतिमा केडिया ग्रुपले पुरुष भलिबलको फ्रेन्चाइज लिग पनि आयोजना गर्दैछै । भदौमा हुने तय भएको नेपाल भलिबल लिग (एनभीएल) पुरुष फ्रेन्चाइज लिगमा ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । उक्त लिगमा विदेशी खेलाडीले पनि खेल्नेछन् ।
पछिल्लो समय नेपालको राष्ट्रिय स्तरको भलिबल प्रतियोगिथामा भारत र पाकिस्तानका खेलाडीहरु मात्र आएर खेल्ने गरेकोमा अब फ्रेन्चाइज लिगमा अन्य देशबा६ पनि खेलाडी आउने तयारी छ । जसले गर्दा नेपाली भलिबलको बारेमा पनि अन्तर्राष्ट्रिय स्तरमै राम्रो प्रचार हुनेछ ।
दक्षिण एसिया र सेन्ट्रल एसिया भन्दा बाहिर पनि नेपालको पुरुष भलिबलको चर्चा हुनेछ ।










