क्यानडामाथि ५० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । अमेरिकी सवारीसाधन, दुग्धजन्य पदार्थ र मदिराप्रति क्यानडाले “असमान व्यवहार” गरेको आरोप लगाउँदै ट्रम्पले यो कदम चालेका हुन् । ह्वाइट हाउसका अनुसार नयाँ भन्सार शुल्क ३० दिनपछि लागू हुनेछ ।

नयाँ निर्णयअनुसार मदिरा, हक्की खेलका सामग्री, सिमेन्टसहित विभिन्न उपभोग्य तथा औद्योगिक वस्तुमा ५० प्रतिशत भन्सार लाग्नेछ । तर ऊर्जा, पोटास, महत्वपूर्ण खनिज र माछाजस्ता क्यानडाका प्रमुख निर्यात वस्तुलाई भने यसबाट छुट दिइएको छ । यो व्यवस्था उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताअन्तर्गत पर्ने वस्तुमा समेत लागू हुने जनाइएको छ ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी निर्णयप्रति असन्तुष्टि जनाउँदै आगामी केही साताभित्र व्यापार वार्तालाई अझ तीव्र बनाइने बताएका छन्। उनले अमेरिकाले पछिल्ला महिनामा एकपछि अर्को गर्दै एकतर्फी व्यापारिक निर्णय लिँदै आएको र यसले दुई देशबीचको व्यापार सम्बन्धमा थप दबाब सिर्जना गरेको बताएका छन् ।

अमेरिका र क्यानडाबीच यसअघि पनि इस्पात, आल्मुनियम, तामा, काठ तथा सवारीसाधनका पुर्जामा भन्सार शुल्कको विवाद चलिरहेको छ। क्यानडाले पनि अमेरिकी इस्पात, आल्मुनियम र सवारीसाधनमा २५ प्रतिशत प्रतिशोधात्मक भन्सार लगाएको छ। पछिल्लो निर्णयले उत्तर अमेरिकाका दुई प्रमुख व्यापारिक साझेदारबीचको सम्बन्धमा थप तनाव सिर्जना गर्ने र व्यापार सम्झौताबारे जारी वार्तामा असर पर्ने विश्लेषण गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्