नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी २० करोड ९० लाख बिगो मागदाबीसहित दायर गरिएको मुद्दामा अदालतबाट साधारण तारेखमा रिहा भए, त्यसपछि अनेक चर्चा भैरहेका बेला एउटा गम्भीर खुलासा भएको छ ।
बाहिरबाट हेर्दा यो विशुद्ध कानुनी प्रक्रिया जस्तो देखिए पनि यसको भित्री कथा भने अर्कै भएको एमाले निकट स्रोतले दाबी गरेको छ ।
उक्त स्रोतको दाबी अनुसार, पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको विषयमा अब चुईक्क नबोल्नेगरी पौडेलले ओलीसंग आत्मसमर्पण गरेपछि उनी छुटेका हुन् । उनले एमाले अध्यक्ष केपी ओलीका खास पात्रमार्फत आफू अब उप्रान्त चुप लागेर बस्ने बचन दिएको बताइएको छ।
यसलाई पुष्टि गर्ने आधार पनि छ, पौडेलले नेतृत्व परिवर्तनको मुद्दालाई जोडतोडका साथ उठाएलगत्तै पौडेल पक्राउ पर्नु संयोग मात्र थिएन। हिरासतमा रहँदा पौडेलले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबाट आफूलाई सिध्याउने खेल भएको गुनासो आफ्ना निकटस्थहरूसँग गरेका थिए।
अहिले उनी रिहा हुनुको पछाडि पनि सोही नेतृत्व परिवर्तनको मुद्दामा अब उप्रान्त ‘मौन बस्ने’ सर्त जोडिएको दाबी स्रोतको छ।
यस्तो पनि होला र भन्ने लागेर हामीले एमालेका एक नेतासंग कुरा गर्यौं, उनले पनि यो दाबीलाई बल पुग्ने कुरा गरे, ति नेताले आफूले पनि पार्टीभित्र यस्ती गाईगुई सुनेको बताए । उनले भने, “ओलीले एउटा पद बचाउन दुई पटक संसद विघटन गरेका हुन्, यो त सामान्य घटना हो उनका लागि, ओलीको विरोध गरेकै कारण एमालेका धेरै नेताको राजनीति नै सकिएको छ।”
ति नेताका अनुसार अहिले पनि ओली सबै संयन्त्रमा शक्तिशाली छन्, अख्तियारदेखि अदालत र प्रशासनसम्म ओलीकै शासन अहिले पनि चल्ने गरेको उनले बताए ।










