काठमाडौँ । गोङ्गबुस्थित मित्रनगरको होटलमा सोमबार बिहान मृत फेला परेकी निशा सुनारका आफन्त अझै सम्पर्कमा आएका छैनन् । उनको शव त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार गोङ्गबुको बिजी मल पछाडि रहेको माउण्ट एल्भिस होटलमा धनगढी स्थायी ठेगाना बताउने २८–३० वर्ष उमेरकी निशा सुनार मृत फेला परेकी हुन् ।
उनले होटलमा बस्न जाँदा टिपाएको ठेगानाबाहेक अन्य कुनै प्रमाणित तथ्य फेला परेको छैन । आफन्त पनि सम्पर्कमा आएका छैनन् ।
उनको हत्या भएको हो वा आत्महत्या गरेकी हुन् भन्ने विषय पनि यकिन भएको छैन । अहिले प्रहरीले होटल सञ्चालकसँग सोधपुछ गरिरहेको छ ।










