काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले कम्युनिस्ट शक्तिहरूलाई दक्षिणपन्थी शक्तिसँगको अपवित्र साँठगाँठबाट टाढा रहन आग्रह गरेका छन्।
प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा सरकार गठनपछि मुलुकका राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनजीविका, नागरिक अधिकार, सूचना प्राप्त गर्ने अधिकार तथा छिमेकी मुलुकसँगको सम्बन्धलगायत विषय थप जटिल बन्दै गएको दाबी गरेका छन्।
मुलुकमा विदेशी हस्तक्षेप र आन्तरिक अव्यवस्था बढिरहेको उल्लेख गर्दै त्यसविरुद्ध देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी तथा प्रगतिशील शक्तिहरूबीच व्यापक एकताको आवश्यकता रहेको बताए।
उनले भनेका छन्, ‘यो देशका श्रमजीवी जनता खोलामा हामफाल्न र आत्महत्या गर्न बाध्य हुन थालेका छन् । यस्तो जटिल परिस्थितिमा बढ्दो विदेशी हस्तक्षेप र बढ्दो घरेलु अस्तव्यस्ताका विरुद्ध यो देशका आम जनता, तमाम देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरू एकताबद्ध भएको देख्न चाहान्छन् । यस्तो एकतालाई सम्पूर्ण वामपन्थीहरुको एकताबद्ध पहलबाट भएको हेर्न चाहन्छन् ।’
वामपन्थीहरूले आफू बीचका आग्रह, पूर्वाग्रह, दम्भ र घमन्ड त्यागेर एकताको पहल गर्नुपर्नेमा खनालले जोड दिएका छन्।
विज्ञप्तिमा भनेका छन्, ‘तर नेपालका वामपन्थीहरू विगतमा नीतिहीन, वर्ग दृष्टिकोणहिन र गुट स्वार्थका आधारमा दक्षिणपन्थी सक्तीहरूसँग एकता गर्न आनन्द महसुस गर्दै आएका छन् । हाम्रो पार्टी नेपाली कम्युनिस्ट पार्टीले पनि ठिक यही गल्ती गर्दै आएको छ । अहिले पनि त्यही गल्ती गर्ने र दक्षिणपन्थी शक्तिहरू सँग नै साँठगाँठ गरेर कम्युनिस्ट पार्टीको प्रतिष्ठामा अझ बढी आँच पुर्याउने खतरा देखा परेको छ।’
जटिल अवस्थामा नेपाली कम्युनिस्ट पार्टीले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नु भन्दा अगाडि केन्द्रीय संयोजन समितिको बैठक बोलाउन माग गरेका छन्।
प्रदेश सरकारमा कांग्रेसको सहकार्यको चर्चा चलिरहेको बेलामा उनले भनेका छन्, ‘आज आवश्यकताका बारेमा कमिटीमा विस्तृत रूपले छलफल गरियोस् र क्रान्तिकारी उद्देश्य र वर्ग दृष्टिकोणलाई सर्वोपरि राखेर मात्र प्रदेश सभामा सरकार बनाउने सम्बन्धमा नीति निर्णय गरियोस् र पार्टीलाई दक्षिणपन्थी वर्ग सम्झौतावादको दलदलतिर जानबाट संस्थागत रूपले बचाइयोस् ।’
केही नेताहरूको कुर्सी मोह र आत्मतृप्तिका निम्ति मात्र साँठगाँठ गर्ने प्रवृत्तिलाई रोक्न माग गरेका छन्।
उनले थपेका छन्, ‘हामी नेपालका सबै कम्युनिस्ट र वामपन्थीहरूले बुझ्नुपर्छ- यो साँठगाँठको बेला होइन सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्ने बेला हो ।’










