काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रस्तावप्रति विमति प्रकट गरेका छन्। ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औँ वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो प्रस्तावले लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने बताए।
सभापति थापाले तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेश संसद्लाई प्रतिपक्षविहीन बनाउनु भएको टिप्पणी गरे। तीन दलीय सरकार बनाउनु जनताले दिएको म्यान्डेटभन्दा फरक कुरा भएकाले कांग्रेसले यसलाई स्वीकार गर्न नसक्ने उनले स्पष्ट पारे।
नेपाली कांग्रेसले विगतमा सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै थापाले अब पार्टीले सिद्धान्तमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे। सत्तालाई नै सबैथोक मान्ने सोचका कारण वि.सं. २०७२ सालयताको राजनीति अस्थिर र दिशाहीन बनेको उनको तर्क छ। राजनीतिक दलहरूमा देखिएको सत्तामुखी प्रवृत्तिको आलोचना गर्दै उनले बिहानसम्म सत्तापक्ष भएको दल भोलिपल्ट प्रतिपक्ष र प्रतिपक्षमा भएको दल एकाएक सत्तापक्ष हुने विकृतिले गर्दा राजनीतिको साख गिरेको बताए। सत्ता नै सबै कुरा हो भन्ने मान्यताले गर्दा कांग्रेससहितका पुराना दलहरूले अहिले ठूलो मूल्य चुकाउनु परिरहेको उनको भनाइ छ।
उनले परिणाम जे भए पनि नेपाली कांग्रेसले विगतका गल्ती नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरे। चुनावअघि एउटा दलसँग गठबन्धन गर्ने र चुनावपछि अर्कोसँग सरकार बनाउने प्रवृत्तिका कारण सरकार र प्रतिपक्षको भूमिका नै अन्योलपूर्ण बनेको भन्दै उनले अब जनादेशको सम्मान गर्दै लोकतान्त्रिक मूल्यका आधारमा राजनीति अघि बढ्नुपर्नेमा जोड दिए।
सभापति थापाले चुनावी गठबन्धन र सत्ता समीकरणमा देखिएको अस्थिरताले दलहरूको पहिचान नै संकटमा परेको उल्लेख गरे। कांग्रेस अब सरकारमा जाने वा सत्ता टिकाइराख्ने खेलमा मात्र नलागी आफ्ना आधारभूत सिद्धान्त र नागरिकको म्यान्डेटप्रति इमानदार रहनुपर्नेमा उनले विशेष जोड दिए।











