‘मास्टर्नी’ को प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति, तत्काल हटाउन माग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । उक्त गीतमा प्रयोग गरिएका शब्द र भावले शिक्षक तथा शिक्षण पेसाकै अपमान गरेको भन्दै महासंघले यसको प्रशारण तत्काल रोक लगाउन समेत छ ।

महासंघको राष्ट्रिय समितिले आज एक विज्ञप्ति जारी गर्दै आगामी भदौ ५ गतेबाट प्रदर्शन हुन लागेको ‘मास्टर्नी’ को प्रमोसन गीतमा आपत्ति प्रकट गरेको हो । हालै सार्वजनिक गीतले महिला शिक्षकहरूलाई लक्षित गरी अमर्यादित शब्द र भाव प्रस्तुत गरेको ठहर महासंघको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको छ ।’

महासंघले सम्बन्धित पक्षलाई उक्त गीतको प्रसारण तुरुन्त बन्द गर्न र चलचित्रमा समेत प्रयोग नगर्न आग्रह गरेको छ । यदि उक्त गीतलाई निरन्तरता दिएमा र त्यसबाट कुनै असहज परिस्थिति वा परिणाम उत्पन्न भएमा त्यसको सम्पूर्ण जिम्मेवारी चलचित्र निर्माता र सम्बन्धित कलाकारहरूले नै लिनुपर्ने चेतावनी समेत महासंघले दिएको छ ।

सानोठिमी, भक्तपुरस्थित कार्यालयबाट जारी गरिएको उक्त विज्ञप्तिमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुला बहादुर थापाले हस्ताक्षर गरेका छन् । शिक्षण पेसाको मर्यादा र सम्मानमा आँच पुग्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने महासंघको अडान छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्