काठमाडौं । बढ्दो महँगी तथा विद्यालय तहको कमजोर पूर्वाधार र शिक्षक अभावको विरोधमा फ्रान्सभर भएको प्रदर्शन शनिबार हिंसात्मक झडपमा परिणत भएको छ । देशव्यापीरूपमा फैलिएको अशान्ति नियन्त्रणमा लिन प्रहरीले हालसम्म कम्तीमा १ हजार २ सय जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
करिब ५ लाख ५० हजार नागरिक सडकमा उत्रिएको यस आन्दोलनका क्रममा हिंसा अप्रत्याशित रूपमा बढेको बीबीसीले जनाएको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच विभिन्न सहरमा भएका झडपमा १५० जना प्रहरी घाइते भएको प्रधानमन्त्री सेबास्टियन लेकोर्नुलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।
राजधानी पेरिसमा दिउँसो शान्तिपूर्ण रहेको प्रदर्शन साँझ पर्दै जाँदा हिंसात्मक बनेको थियो। सहरको मुख्य चोक ‘प्लेस डे ला रिपब्लिक’ लगायतका ऐतिहासिक स्थलहरूमा प्रदर्शनकारीले सवारीसाधन र सडकमा आगो लगाएका थिए । भीडलाई नियन्त्रणमा लिन दङ्गा नियन्त्रण प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र लाठीचार्ज गरेको थियो । सो क्रममा दर्जनौँ पसलहरूमा तोडफोड तथा लुटपाट हुनुका साथै कम्तीमा एउटा रेस्टुरेन्टमा आगो लगाइएको छ।
पेरिसबाहिर लिमोज सहरको टाउन हल भवनमा आगजनी गरिएपछि त्यसको छानाको केही भाग भत्किएको छ। यस्तै, लियोन सहरको ऐतिहासिक पर्यटकीय कार्यालयमा समेत आगो लगाइएको छ । सो घटनाप्रति दुःख व्यक्त गर्दै लियोनका मेयर ग्रेगोरी डोसेटले यसलाई ‘हृदयविदारक विपत्ति’ भनेका छन्। त्यहाँ प्रदर्शनकारीले दमकलकर्मीलाई समेत आगो निभाउन अवरोध पुर्याएका थिए ।
दक्षिण-पूर्वी सहर सेन्ट-इटियेनमा एक साना विस्फोटमा परी एक युवकको हात क्षतविक्षत भएको स्थानीय मेयरले बताएका छन्। यता लिल सहरमा रहेको ‘एप्पल स्टोर’ तोडफोड गरी लुटपाट गरिएको छ।
पछिल्ला केही सातादेखि १५ देखि १८ वर्ष उमेर समूहका विद्यार्थी अध्ययन गर्ने माध्यमिक विद्यालयमा शिक्षकको चरम अभाव र कमजोर भौतिक पूर्वाधारलाई लिएर लाखौँ विद्यार्थी सडकमा उत्रिँदै आएका थिए । पछि उनीहरूको आन्दोलनमा विभिन्न ट्रेड युनियनहरू र सन् २०१८ मा लामो समय महँगीविरुद्ध प्रदर्शन गरेको ‘एलो भेस्ट’ (पहेँलो ज्याकेट) समूहसमेत सामेल भएपछि आन्दोलन विशाल बनेको हो।
गृह मन्त्रालयका अनुसार पेरिससहित मार्सेली, रेन्स, तुलुज, एन्जर्स, ग्रेनोबल लगायतका सहरहरूमा मुखौटा लगाएका समूहहरूले योजनाबद्ध रूपमा सरकारी तथा व्यावसायिक संरचनामा क्षति पुर्याएका छन्।
यस घटनालाई फ्रान्सको आगामी राष्ट्रपतीय निर्वाचनको राजनीतिक पृष्ठभूमि र अनिश्चिततासँग पनि जोडेर हेरिएको छ। वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोँले आगजनी, तोडफोड र लुटपाटमा संलग्न कसैलाई पनि नछाडिने र कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्। प्रधानमन्त्री लेकोर्नुले केही समूहले राष्ट्रपतीय चुनावको पूर्वअभ्यासका रूपमा हिंसा भड्काउन खोजेको आरोप लगाएका छन्।
यता, आन्दोलनमा सहभागी भएका वामपन्थी नेता जिन-लुक मेलान्शोनले लुटपाट र आगजनीको विरोध गर्दै प्रदर्शनकारीमाथि प्रहरीले दमन गरेको आरोप लगाएका छन् भने दक्षिणपन्थी नेतृ म्यारिन ले पेनले प्रदर्शनकारीका जायज मागलाई अति-वामपन्थीहरूले ‘बन्धक’ बनाएर हिंसा मच्चाएको टिप्पणी गरेकी छन्।
यसअघि अक्टोबर ८ मा फ्रान्सका शिक्षामन्त्री एडुवार्ड जेफ्रेले विद्यालयहरूमा तत्काल ३ हजार अस्थायी शिक्षक थप गर्ने घोषणा गरे तापनि प्रदर्शनकारीहरू शान्त हुन नसक्दा स्थिति झन् जटिल बन्दै गएको छ।










