काठमाडौं । दुई तिहाइ नजिकको बलियो सरकार र नयाँ पुस्ताको नेतृत्वले शेयर बजारमा ‘बुल’ ल्याउने लगानीकर्ताको सपना तीन महिनामै दुस्वप्नमा परिणत भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा रास्वपाको सरकार गठन भएयता नेप्से परिसूचकमा निरन्तर पहिरो जाँदा लगानीकर्ताले झन्डै ६ खर्ब रूपैयाँ बराबरको सम्पत्ति गुमाएका छन् ।
विज्ञहरूको ‘ड्रिम टिम’ ले अर्थतन्त्र सम्हाल्दा समेत बजारले उल्टो बाटो समातेपछि पूँजीबजारका लाखौँ लगानीकर्ता यतिबेला सडक आन्दोलन र निराशाको दोसाँधमा पुगेका छन् ।
सरकार गठन हुनुअघि २०८२ चैत १२ गते दुई हजार ९५० विन्दुमा पुगेको नेप्से परिसूचक त्यसपछिका कारोबार दिनहरूमा लगातार घट्दै जाँदा समग्र बजार पुँजीकरणमा झन्डै ५ खर्ब ८३ अर्ब रूपैयाँको गिरावट आएको हो । रास्वपा सरकार गठनअघि ५० खर्ब ९ अर्ब रूपैयाँ रहेको कुल बजार पुँजीकरण हाल ४४ खर्ब २६ अर्ब रुपैयाँ कायम भएको छ ।
लगानीकर्ताले गुमाएको यो रकम नेपालको वार्षिक बजेटको २७ प्रतिशतभन्दा बढी रहेको बताउँछन् नेपाल शेयर धनी संघका अध्यक्ष जीएस पाण्डे । पुँजी बजार अर्थतन्त्रको ऐना रहेकोले पुँजी बजार बचाउन सकिएन भने आम लगानीकर्तालाई पनि बचाउन नसकिने उनको भनाई छ ।
पछिल्ला तीन महिनामा नेप्से परिसूचक १२ दशमलब ६७ प्रतिशतले घटेको छ । २०८२ चैत १२ गते २ हजार ९५० विन्दुमा रहेको नेप्से अहिले २ हजार ५७६ विन्दुमा झरेको छ ।
प्रधानमन्त्रीले केही दिनअघि निजी क्षेत्रका अगुवाहरूलाई बोलाएर संवाद गरेका थिए । तर, त्यसपछि पनि बजारले लय समात्न सकेको छैन ।
नयाँ सरकार आएयता शेयर बजारको कारोबार दिनमध्ये बढेको भन्दा घटेको दिनहरू धेरै रहेको नेप्सेको तथ्यांकले देखाउँछ । त्यो क्रम बजेटपछि झन् बढ्यो । बजेट सार्वजनिक भएको दिन जेठ १५ गते नेप्से दुई हजार ७६६ विन्दुमा रहेको थियो । त्यसयता नेप्से परिसूचक निरन्तर घटेको छ ।
बालेन सरकार गठन हुँदा लगानीकर्ताहरूले शेयर बजार बढ्ने अपेक्षा राखेका थिए । हुन पनि अर्थतन्त्र बुझेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्दा लगानीकर्ताले अर्थतन्त्र सुधारका नीति आउने विश्वास लिएका थिए ।
वाग्लेसँगै नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्ट जस्ता वित्तीय प्रणाली बुझेका व्यक्तिहरू प्रमुख आर्थिक निकायको नेतृत्वमा छन् ।
अर्थतन्त्र बुझेकाहरूले नेतृत्व सम्हाल्दा बजारले सकारात्मक दिशा लिने विश्वास लगानीकर्ताहरूको भए पनि त्यो वास्तविक बजारले भने देखाउन सकेन । जसले गर्दा शेयर लगानीकर्ताहरू रुष्ट बने र सेबोनको कार्यालय नै घेर्न पुगे ।
मंगलबार शेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा शेयर लगानीकर्ताहरूले सेबोन कार्यालय घेराउ गरे । शेयर बजारको सुधारका कदम तत्काल चाल्न उनीहरूले माग राखे ।
‘लगानीकर्ताको मनोबल गिरेको छ । बजारलाई चाहिने नीति, नियम, पूर्वाधार निर्माण गर्न सरकारले चासो दिनु पर्यो । यो भएन भनेर एक पछि अर्को समस्या आउँछ । तत्काल सरकारको ध्यान जाओस्’, लगानीकर्ता कोइरालाले भने ।
उनी लाखौँ लगानीकर्ता रहेको यस क्षेत्रलाई सरकराले लगानी सुरक्षित गर्ने नीतिगत र व्यवहारिक कदम चाल्नुपर्ने बताउँछन् ।
शेयर बजारका लगानीकर्ता डराउनुको अर्को कारण हो– सरकारले सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा ठूला व्यवसायीमाथिको छानबिन तीव्र बनाउनु । जसले गर्दा शेयर बजारका लगानीकर्ता त्रसित बनेका हुन् । सम्पत्ति शुद्धीकरणको अनुसन्धान भएपछि लगानीकर्ताहरू डराएर हारगुहार मागेको सेबोनका अध्यक्ष भट्ट स्वीकार्छन् ।
लगानीकर्ताको सामान्य माग रहेको सुनाउँदै अध्यक्ष भट्ट भन्छन्, ‘तपाईँहरू यस्तो हेपोक्रयाट्स नचलाइदिनु भन्ने उहाँहरूको साधारण माग छ । पहिले लगानी त्यसैले आउँथ्यो, अहिले त्यसैले लगानीकर्ताहरू डराइरहेका छन् । मनोबल उकास्नु पर्यो ।’
जवाफमा आफूले मनोबल मनको कुरा रहेकोले यस्ता कुराहरूले लगानीकर्ताहरू डराउन नहुने भन्दै सम्झाउने गरेको उनले सुनाए ।
निरन्तर ओरालो लागेको बजार सुधार्न भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८३-८४ को पुँजी बजार नीतिमा उक्त विषय उल्लेख गरिएको हो ।
उक्त कार्यदलमा नेपाल धितोपत्र बोर्ड, नेप्से, सिडिएससी मर्चेन्ट बैंकर एसोशियसन, स्टक ब्रोकर एसोशियसन अफ नेपाल, क्रेडिट रेटिङका प्रतिनिधि र विशिष्टिकृत कोष व्यवस्थापकका प्रतिनिधि रहने छन् ।
बजारमा देखिएको तीव्र गिरावट र लगानीकर्ताको आन्दोलनपछि सेबोनका अध्यक्ष भट्टले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग छलफल समेत गरे । छलफलपछि सेबोनले पुँजी बजार नीति अघि सारेको छ ।
यो नीतिले नेपालको पुँजी बजारलाई विश्वसनीय, प्रतिस्पर्धी, समावेशी, प्रविधिमैत्री तथा अन्तराष्ट्रियस्तरको आधुनिक वित्तीय प्रणालीकारुपमा विकास गर्ने मार्गचित्र समेत रहेको सेबोनको भनाइ छ ।
धितोपत्र सम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझमा अन्तरनिकाय समन्वय प्रभावकारी बनाउने, लगानीकर्ता सुरक्षालाई प्राथमिकता दिई फिनफ्ल्युयन्सररूबाट धितोपत्र बजारलाई प्रभावित पार्ने गरी सूचना प्रवाह भएको विषय तथा अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार, सामाजिक सञ्जालमार्फत हुने बजार प्रभावित गर्ने गतिविधि तथा वित्तीय ठगी विरुद्धका कार्यहरू उपर प्रभावकारी नियामकीय निगरानी गरिने जस्ता योजना अघि सारिएको छ ।









