रास्वपालाई ओलीको जवाफ- यो लाचारीपनलाई इतिहासले अवश्य हेर्नेछ, कठघरामा उभ्याउनेछ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले सरकारले आफूहरूको संयमता कमजोरी ठानेको बताएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीको अभिव्यक्ति व्यक्तिगत विचार नहुने भएकाले सदनमै आएर जवाफ दिनुपर्ने बताइन्।

उनले भनिन्, ‘दुर्भाग्यवश, प्रधानमन्त्रीज्यूले संसद्लाई होइन, आफ्नै दलको चितवन महाधिवेशनलाई रोज्नुभयो। के अब सरकारको आधिकारिक जवाफ पार्टीको महाधिवेशनबाट आउने हो? के सार्वभौम संसद् पार्टीको मञ्च भन्दा सानो संस्था भएको हो? संविधानले प्रधानमन्त्रीलाई कार्यपालिका प्रमुख बनाएको छ। कार्यपालिका संसद्प्रति उत्तरदायी रहनुपर्छ।’

यदि संसद्को सट्टा पार्टी मञ्चबाट जवाफ दिने अभ्यास स्थापित भयो भने संसदीय लोकतन्त्रको औचित्य के रहन्छ? भन्दै प्रश्न गरिन्।
उनले रास्वपाका सांसदहरूको भूमिकामाथि पनि प्रश्न उठाइन्।

‘प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतामाथि प्रश्न उठ्यो, त्यो विषयमा तपाईँहरू किन मौन बसिरहनुभएको छ?’ उनले प्रश्न गरिन्, ‘राष्ट्रको विषय आउँदा तपाईँहरूको आवाज किन आउँदैन? केही दल, केही नेतागत निष्ठा, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हित भन्दा माथि कसरी पुग्यो? इतिहासले प्रतिपक्षले के बोल्यो भन्ने मात्र लेख्दैन, सत्तापक्षले कहिले बोल्यो, कहिले मौन रह्यो र कसको पक्षमा उभियो भन्ने कुरा पनि लखिनेछ।’

उनले इतिहासले सत्तापक्षको लाचारीपन अवश्य हेर्ने बताइन्।

उनले थपिन्, ‘त्यसैले सम्झनुहोस्, आज तपाईँहरूको मौनता पनि इतिहासको अभिलेखमा दर्ता हुँदै छ। भोलि इतिहासले हामीलाई मात्र होइन, राष्ट्रको प्रश्नमा मौन बसेका तपाईँहरूलाई पनि कठघरामा उभ्याउनेछ।’

आफूबाट भएका त्रुटि सच्याउनु नेतृत्वको कमजोरी नभई उत्तरदायित्वको सर्वोच्च उदाहरणको रूपमा स्थापित हुने बताइन्।
उनले भनिन्, ‘हामी सीमा बिर्सने पुस्ता होइनौँ, सीमा जोगाउने पुस्ताको प्रतिनिधि हौँ। हामी संसद्को गरिमा, संविधानको मर्म र नेपालको राष्ट्रिय स्वाभिमान भन्दा माथि कुनै दल, कुनै सरकार, कुनै पद वा कुनै व्यक्तिलाई कहिल्यै पनि राख्न सक्दैनौँ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्