काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै ब्याजदर करिडोरलाई थप साँघुरो बनाउँदै लगेको जनाएको छ। ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबिचको दूरी क्रमशः घटाउँदै नीतिगत दरलाई करिडोरको बिचमा कायम गर्ने उद्देश्य राष्ट्र बैंकले लिएको छ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधाको ब्याजदर ६.० प्रतिशत, तल्लो सीमाको स्थायी निक्षेप सुविधाको ब्याजदर २.७५ प्रतिशत र नीतिगत दर ४.५० प्रतिशत निर्धारण गरिएकोमा पहिलो समीक्षामार्फत माथिल्लो सीमा र नीतिगत दरलाई क्रमशः ५.७५ प्रतिशत र ४.२५ प्रतिशत कायम गरिएको थियो। सञ्चालन लक्ष्यको रूपमा भारित औसत अन्तरबैंक दरलाई नीतिगत दरको हाराहारीमा राख्ने लक्ष्य तय गरिएकोमा २०८३ वैशाखमा भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत रहेको छ।
मौद्रिक नीतिको व्यवस्थाअनुसार तरलता व्यवस्थापनका लागि नियममा आधारित खुला बजार कारोबार सञ्चालन गरिएको छ। नियमित मौद्रिक उपकरणका अतिरिक्त बैंकिङ प्रणालीमा रहेको संरचनागत प्रकृतिको तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंक ऋणपत्र समेत निष्कासन गरिएको छ।
आर्थिक वर्ष २०८२/८३ को दस महिनासम्ममा ४ दिनदेखि १७५ दिनसम्मको निक्षेप सङ्कलन बोलकबोलमार्फत ७१ पटक, स्थायी निक्षेप सुविधामार्फत ११७ पटक तथा १ वर्ष अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत जम्मा ९ पटक तरलता प्रशोचन गरिएको छ। २०८३ वैशाखमा निक्षेप सङ्कलन बोलकबोलमार्फत रु. ७१६ अर्ब ७० करोड, स्थायी निक्षेप सुविधामार्फत रु. १११ अर्ब ९० करोड र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत रु. २०० अर्ब तरलता प्रशोचनको बक्यौता रकम रहेको छ। यसै अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर खुद खरिदमार्फत रु. ९४६ अर्ब २६ करोड तरलता प्रवाह भएको छ।
वित्तीय प्रणालीमा अधिक तरलता रहेका कारण अल्पकालीन ब्याजदरहरू ब्याजदर करिडोरको तल्लो सीमाकै हाराहारीमा रहेका छन्। २०८३ वैशाखमा बैंक तथा वित्तीय संस्थाहरूको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत तथा ९१-दिने ट्रेजरी बिल्सको भारित औसत ब्याजदर २.६३ प्रतिशत कायम भएको छ।
अल्पकालीन ब्याजदरहरू न्यून रहेको तथा अधिक तरलताको स्थिति रहिरहेका कारण निक्षेप र कर्जाको ब्याजदरहरू थप घट्दै गएका छन्। २०८३ वैशाखमा वाणिज्य बैंकको औसत निक्षेप ब्याजदर ३.३५ प्रतिशत, विकास बैंकको ३.७० प्रतिशत र वित्त कम्पनीको ४.५९ प्रतिशत रहेको छ। यसै अवधिमा वाणिज्य बैंकको कर्जाको भारित औसत ब्याजदर ६.७३ प्रतिशत, विकास बैंकको ७.८७ प्रतिशत र वित्त कम्पनीको ९.१४ प्रतिशत कायम भएको छ।










