प्रधानमन्त्रीको निर्देशनअनुसार काम गरिरहेका छौँः स्वास्थ्यमन्त्री मेहता

खबर बुक
  • ख-
  • ख+

२४ जेठ, काठमाडौं ।  स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका १०० कार्यसूचि कार्यान्वयनमा केन्द्रित भएर काम गरिरहेको बताएकी छन् ।

आइतबार मन्त्रालयमा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र साहको निर्देशनअनुसार सरकारका प्राथमिकतामा रहेका १०० बुँदे शासकीय सुधार कार्यक्रम पूरा गर्न मन्त्रालयको ध्यान केन्द्रित भएको बताइन् ।

मन्त्री मेहताले मन्त्रालयमा सुधार गर्नुपर्ने धेरै क्षेत्र रहेको स्वीकार गर्दै आगामी दिनमा त्यसतर्फ थप सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले मन्त्रालयले अब नियमित रूपमा सञ्चारकर्मीसँग संवाद गर्ने योजना बनाएको जानकारी दिँदै सम्भव भएसम्म हरेक १५ दिनमा मन्त्रालयका गतिविधिबारे जानकारी गराइने बताइन् ।

‘हाम्रो आफ्नै कार्यव्यस्तता थियो। हाम्रो मुख्य लक्ष्य नै १०० बुँदे कार्यसूचि पूरा गर्नु थियो। सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन पनि शासकीय सुधारका ती कार्यक्रम कसरी सम्पन्न गर्ने भन्नेमा केन्द्रित थियो,’ मन्त्री मेहताले भनिन् ।

सञ्चारकर्मीसँग नियमित अन्तरक्रिया हुन नसकेको स्वीकार गर्दै उनले त्यसप्रति क्षमायाचना समेत गरिन् । ‘प्रेस एडभाइजरी र नियमित भेटघाटमा हाम्रो ध्यान पुग्न सकेन । त्यसका लागि हामी क्षमाप्रार्थी छौं । अब सम्भव भएसम्म हरेक १५ दिनमा पत्रकारहरूसँग भेटघाट गर्नेछौं,’ उनले भनिन् ।

मन्त्री मेहताले मन्त्रालयले विज्ञ, सञ्चारकर्मी तथा सरोकारवालाबाट प्राप्त सुझाव र प्रतिक्रियालाई महत्वका साथ ग्रहण गर्ने बताइन् । मन्त्रालयका कमजोरी र सबल पक्षबारे आफूहरू जानकार रहेको उल्लेख गर्दै प्राप्त सुझावलाई आत्मसात् गरेर सुधारका काम अघि बढाइने उनको भनाइ थियो ।

उनले मन्त्रालयमा आउने गुनासो तथा समस्याहरूलाई पनि क्रमशः सम्बोधन गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्