काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ।
निगमले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँका दरले वृद्धि गरिएको हो।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न बाध्य भएको जनाएको छ। पछिल्लो समय बढ्दो मूल्यका कारण निगमलाई ठूलो घाटा व्यहोर्नुपरेको र आगामी दिनमा पनि घाटा अझै बढ्ने अनुमान गरिएको छ।
नयाँ मूल्य सूचीअनुसार विभिन्न प्रदेशमा फरक–फरक दर कायम गरिएको छ। काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८५ रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य १६८ रुपैयाँ पुगेको छ।
निगमले उपभोक्तालाई इन्धनको मितव्ययी प्रयोग गर्न आग्रह गर्दै अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि समायोजन गरिने जनाएको छ।












