आज राति १२ बजेदेखि अत्यावश्यकबाहेक सबै सवारी बन्द

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । निर्वाचन आयोग ले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बुधबार राति १२ बजेदेखि अत्यावश्यक सेवाबाहेकका सबै सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। सुरक्षा व्यवस्थालाई थप कडा बनाउँदै मतदान कार्य सम्पन्न नहुन्जेलसम्म सवारी आवागमन नियन्त्रण गर्ने निर्णय गरिएको हो।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगको सिफारिसमा सरकारले बुधबार राति १२ बजेदेखि बिहीबार साँझ ५ बजेसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएको हो। उक्त अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधन सञ्चालन गर्न पाइने छैन।

आयोगले तीन प्रकारका सवारीसाधनलाई भने सञ्चालन अनुमति दिएको छ। एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चारका सवारी, खानेपानी तथा विद्युत् मर्मतसम्बन्धी सवारीजस्ता अत्यावश्यक सेवाका साधनहरू निर्वाध रूपमा सञ्चालन गर्न सकिनेछ। साथै कूटनीतिक नियोगका निलो प्लेट भएका सवारीसाधन तथा निर्वाचन आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पास प्राप्त सवारीसाधनलाई पनि सञ्चालन अनुमति दिइनेछ।

मतदाताहरूलाई आफ्नो गन्तव्यमा पुग्न आवश्यक परे सवारी बन्द हुनुअघि नै व्यवस्थापन मिलाउन आयोगले आग्रह गरेको छ। निर्वाचन अवधिमा सवारी प्रयोगका क्रममा कुनै समस्या आएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न पनि आयोगले अनुरोध गरेको छ। आवश्यक परे सुरक्षा निकायले आयोगसँग समन्वय गरी सहजीकरण गर्ने व्यवस्था मिलाइने जनाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्