नेपाली कांग्रेसलाई विजयी गराउन पूर्णबहादुर खड्काको अपिल

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । पूर्णबहादुर खड्काले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी भई नेपाली कांग्रेसलाई विजयी गराउन अपिल गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै खड्काले बिहान ७ बजेदेखि सुरु हुने मतदानमा कर्णाली प्रदेशसहित सातै प्रदेशका सबै मतदान केन्द्रमा पुगेर प्रत्यक्ष र समानुपातिक दुवै मतपत्रमा पार्टीको ऐतिहासिक चुनाव चिन्ह ‘रुख’मा स्वस्तिक छाप लगाउन आग्रह गरेका हुन्।

उनले लेखेका छन्, “फागुन २१ गते बिहान ७ बजे देखि सुरु हुने मतदानमा देशभरका सम्पूर्ण मतदान केन्द्रमा उपस्थित भई प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिक दुवै मतपत्रमा हाम्रो पार्टी नेपाली कांग्रेसको ऐतिहासिक चुनाव चिन्ह रुखमा आफ्नो बहुमूल्य मतको स्वस्तिक छाप लगाई भारी बहुमतका साथ विजयी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछु।”

खड्काले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र मर्यादित ढंगले सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। साथै उनले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आह्वान गरेका छन्।

यसअघि पुस २७ देखि ३० गतेसम्म सम्पन्न विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पार्टीभित्र विवाद उत्पन्न भएको छ। १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा र डा। शेखर कोइराला पक्ष विशेष महाधिवेशनविरुद्ध सर्वोच्च अदालत पुगेका छन्। उक्त मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ।

निर्वाचन प्रचारप्रसारका क्रममा देउवा, खड्कालगायत केही शीर्ष नेता हालसम्म सक्रिय रूपमा सहभागी भएका छैनन्। यद्यपि पछिल्लो अपिललाई पार्टी एकताका सन्देशका रूपमा हेरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्