काठमाण्डौं, १७ माघ । बागलुङ जिल्लमा यो वर्ष २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तलाखेतीप्रति किसानको आकर्षण बढेपछि उत्पादन बढेको हो । अघिल्लो वर्षको तुलनामा यस वर्ष ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औसा किराको प्रकोपलेबाट सुन्तलाका बोट जोगिँदा उत्पादन वृद्धि भएको हो ।
कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष २६ करोड ४६ लाखको सुन्तला उत्पादन भएको थियो । पछिल्लो समय बाँझो खेतबारीमा किसानले सन्तलाखेती गर्न थालेपछि बर्सेनि उत्पादन बढ्न थालेको ज्ञान केन्द्रका प्रमुख कुमार पुन मगरले जानकारी दिए।
पहिले कोदो, मकै, गहुँलगायतका खाद्य बाली लगाउने बारीमा हिजोआज सुन्तलाखेती गर्न थालिएको प्रमुख पुन मगरले बताए। कम मेहनतमा राम्रो उत्पादन गर्न सकिने हुँदा कृषक सुन्तलाखेतीप्रति आकर्षित भएको उनी बताउँछिन्। यो वर्ष चार हजार १६९ मेट्रिक टन सुन्तला उत्पादन भएको पुन मगरले जानकारी दिए। किसानले न्यूनतम प्रतिकिलो ६५ ले बिक्री गरेको उनले बताए।











