काठमाडौं, मंसिर १८ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको १५औँ महाधिवेशनलाई भव्य र सफल बनाउन पार्टीका सबै तहका नेता-कार्यकर्ता एकजुट भएर जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने धारणा राखेका छन्।
पार्टीको विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट आज आयोजित अन्तरक्रियामा उनले भने, “हामी सबैले एकै लक्ष्य लिएर अघि बढ्न सक्नुपर्छ। १५औँ महाधिवेशन केवल औपचारिकता होइन, पार्टीको भविष्य निर्धारण गर्ने अवसर हो। त्यसैले इमानदार, निष्ठावान् र समर्पित नेताकार्यकर्ताको सक्रियता अहिले अत्यन्त जरुरी छ।”
नेता घिमिरेले सबैका सुझावलाई पार्टी नेतृत्वसमक्ष पुर्याइने तथा महाधिवेशन तयारीलाई थप गति दिने प्रतिबद्धता जनाएका थिए।
कांग्रेस नेता देवराज चालिसेले महाधिवेशन निर्धारित मितिमा नै हुनुपर्नेमा जोड दिँदै महाधिवेशन समयमै नहुँदा उत्पन्न हुने अनिश्चितता पार्टी हितमा नहुने र त्यसले सङ्गठनात्मक संरचनामा विचलन ल्याउने सम्भावना रहने उल्लेख गरे।











