काठमाडौं ।ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले अव परिवर्तनको नेतृत्व नयाँ र बिकल्प दिने व्यक्ति, संस्था र पार्टीहरुले गर्नुपर्ने बताएका छन ।
बुधबार काठमाडौंमा उज्यालो नेपाल पार्टीको घोषणासभालाई सम्बोधन गर्दै घिसिङले आमजनताको इच्छा आकांक्षा बमोजिम बैकल्पीक भनिएका शक्तिहरु एकठाँउमा आएर परिवर्तनको नेतृत्व गर्नुपर्ने बताएका हुन। अहिलेका परिवर्तनलाइ परिणाममूखी बनाउनुपर्ने भन्दै उनले नयाँ सरकार, युवाको नयाँ नेतृत्व अपरिहार्य रहेको बताए ।
घिसिङले जेनजी आन्दोलनले भ्रष्टाचार मुक्त देशको विषय मुख्य रुपमा उठाएकाले भ्रष्टाचार मुक्त देश बन्न सके समृद्धितर्फ अघि बढ्न सकिने धारणा राखे । सहि व्यक्तिलाई प्रधानमन्त्रीदेखि तहसम्मको जिम्मेवारी दिन सकेको भए जेनजी आन्दोलनको अवस्था नआउने भन्दै उनले सहि व्यक्ति सहि स्थानमा भए देश परिवर्तन हुन धेरै समय नलाग्ने जिकिर गरे ।
ठूला–ठूला भाषण गर्न सक्ने व्यक्ति मुलुकको समृद्धि गर्न असफल हुन सक्ने भएकाले भाषण भन्दा परिणाममूखी काम गर्न सक्नुपर्ने उनले जोड दिए । उनले जेनजी आन्दोलनपछिको चूनौति स्वीकार गर्र्दै आफु सरकारमा सहभागी भएकाले आफुले पूर्णरुपमा जिम्मेवारी पुरा गर्ने बताए । उनले जेनजी आन्दोलनपछिको परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई अग्रगामी दिशामा लैजान वर्तमान सरकार केन्द्रित भइरहेको स्पष्ट पारे ।













