काठमाण्डौं, १ मंसिर । राष्ट्रिय कर दिवसको अवसरमा काठमाण्डौमा भएको विशेष समारोहमा बढी कर तिर्ने विभिन्न १६ वटा कम्पनी तथा व्यक्ति सम्मानित भएका छन् । सोमबार काठमाण्डौंमा भएको विशेष समारोहमा १६ वटा कम्पनी तथा व्यक्तिलाई सरकारले सम्मान गरेको हो।
वस्तु व्यापारतर्फ लगातार बढी कर तिर्नेको सूचीमा भाटभटेनी परेको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङलाई अर्थमन्त्री रामेश्वरप्रसाद खनालले प्रमाणपत्र, दोसल्लासहित सम्मान गरे ।
यस्तै व्यक्तिगततर्फ राजबहादुर शाह सबैभन्दा बढी करदाताको रुपमा सम्मानित भएका छन् । सबैभन्दा बढी आयकर दाखिला गर्ने सरकारी स्वामित्वको दूरसञ्चार प्राधिकरण, एकलौटी फर्महरुमध्ये थर्ड आई इन्टरनेशनल, वस्तु निर्माणको कारोबारमा बढी आयकर दाखिला गर्ने डाबर नेपाल प्रालिलाई पनि सम्मान गरिएको छ ।
सूचना प्रविधिमा बढी सेवा निर्यातको कारोबार गर्नेमा ओरिक्स नेपाल प्रालि, कृषि एवम् पशु पंक्षीजन्य उद्योगमध्ये पोषक ब्रिडर फार्म प्रालि, बैंकतर्फ नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सम्मान गरिएको छ ।
यस्तै,स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमध्येमा नोबेल मेडिकल कलेज टिचिङ अस्पताल, पर्यटन व्यवसायमा सोल्टी होटल, वार्षिक कारोबार रकम ५० करोड रुपैयाँभन्दा बढी र सय करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये सीडीएस एन्ड क्लियरिङ हाउसलाई सम्मान गष्रिएको छ ।











