काठमाडौं, असोज २६ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी अंकले गिरावट आएको छ। नेपालीहरूको महान पर्व दसैंपछि खुलेको बजारमा सेयर बजार भारी अंकले गिरवाट हुँदै आएको छ। यसअघि खुलेका तीन काराेबारमध्ये दुई दिन भारी अंकले गिरावट भएको थियो।
यस क्रममा सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्स) आज ७९ अंकले गिरावट आएको हो। सेयर बजार ३.०५ प्रतिशतले गिरावट हुँदा २५०३ विन्दुमा झरेको छ।
कारोबारका आधारमा आज जम्मा ९ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। यसको विपरीत २४२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो। जसमा आज सबैभन्दा बढी हाइड्रो समूहमा गिरावट आएको हो।
आइतबार नेपाल माइक्रो इन्स्युुरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य ६ प्रतिशतले वृद्धि हुँदा दुई कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।
आज सबैभन्दा बढी गुमाउने कम्पनीहरूमा बुटवल पावर कम्पनी लिमिटेड, नेपाल रिइन्स्युरेन्स कम्पनी लिमिटेड र रादी विद्युत कम्पनी लिमिटेडलगायत कम्पनीहरू रहेका छन्।
कारोबारका आधारमा आज ६ अर्ब ७० करोडभन्दा बढी मूल्यको सेयर किनबेच भएको छ। जसमा नेपाल रिइन्स्युरेन्स कम्पनी लिमिटेडको सेयर ३८ करोडभन्दा बढी मूल्यको कारोबार भएको छ। अघिल्लो दिन बिहीबार पाँच अर्ब २७ करोडको सेयर कारोबार भएको थियो।











