काठमाडौं, असोज १६ । बीपी राजमार्गमा आजदेखि २१ गतेसम्म राति गाडी चलाउन रोक लगाइएको छ । स्थानीय प्रशासनले असोज १६ गतेदेखि २१ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक र निजी यात्रुबाहक सवारीसाधन सन्चालनमा रोक लगाएको हो ।
मनसुन सक्रिय हुन लागेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि काभ्रे भञ्ज्याङ्ग–भकुण्डेबेसी–सिन्धुली सडकखण्डमा आवतजावत गर्ने अत्यावश्यक सेवाका बाहेक सबै सवारी साधन रातिको बेला नचलाउने निर्णय भएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काभ्रे जिल्लामा पनि भारी वर्षाको सम्भावना उच्च रहेको उच्च सतर्कता अपनाउन भनेको थियो । त्यसपछि जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनको आवागमन निषेध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
उनका अनुसार रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारी साधनहरु रोक्न सक्नेछन् ।











