देश बर्बाद भएपछि खेलाडीले केही गर्न सक्दैन, नेपालको हालत यही भएको हो : केपी ओली

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेकपा एमालेका अध्यक्ष के‍पी शर्मा ओलीले नेपाली खेलाडीको शारीरिक विकासमा ध्यान दिनुपर्ने बताएका छन् । नेपाल खेलकुद विकास महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले सरकारले खेल विकासमा ध्यान नदिएको टिप्पणी गरे ।

‘खेल विकासका लागि सिंगै नेपालीको हाइट बढाउनुपर्ने छ । खेलाडी खान नपाएर कमजोर हुने स्थिति हुनुहुँदैन। यतापट्टि सरकारले ध्यान दिनुपर्ने हो,’ उनले भने, ‘यहाँ त सरकार हस्तक्षेप गरेर एन्फालाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध गर्नेतिर लागेको छ । यसलाई टुप्पोमा परिवर्तन खोजेर हुँदैन । जरैदेखि हुनुपर्छ ।’

उनले एन्फालाई प्रतिबन्धबाट मुक्त गरेर नेपाली खेलाडीको नाम विश्वमा चम्काउनेतर्फ ध्यान दिन पनि महासंघलाई आग्रह गरे । देशै बर्बाद भएको कारण खेलाडीले मात्रै देशलाई अगाडि लैजान नसक्ने ओलीको भनाइ छ ।

उनले जेनजी आन्दोलनलाई हिंसाको रुपमा टिप्पणी गरे ।

‘देशै बर्बाद भएको छ भने खेलमात्रै कसरी अगाडि जान्छ । नेपालको हालत त्यही भएको त हो,’ उनले भने, ‘भूइँचालो, कोभिडले ध्वस्त पार्‍यो हामीले उकास्ने प्रयास गर्‍यौं । तर यो कुरा सैह्य भएन । तर तोडफोड हत्या हिंसा मच्याइयो । यसलाई वैधानिकता दिने काम भइरहेको छ।’

उनले सबैभन्दा माथि देश रहेको बताए । ‘हामी विस्तारै साँच्चै सबै नेपालीले न्याय पाउने नेपाल, सबैलाई माया गर्ने व्यवस्था प्रणालीबाट अघि बढ्नेछौं । लभ आवर कन्ट्री, लभ आवर नेशन,’ उनले भने,’देशभन्दा ठूलो केही छैन । त्यस पहिले हो । देशभन्दा माथि केही छैन ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्