सरकारले माघ महिनाभित्र काठमाडौं उपत्यका र पोखराबाट फाइव जी सेवा शुभारम्भ गर्ने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, भदौ १ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी माघ महिनाभित्र काठमाडौं उपत्यका र पोखराबाट फाइव जी सेवा शुभारम्भ गर्ने बताउनुभएको छ ।

तामाङ पत्रकार संघको ३१ औं प्रसारण दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्रीसंग भएको कार्यसम्पादन सम्झौतामा समेत माघ महिनाभित्र फाइव जी सेवा शुभारम्भ गर्ने उल्लेख भएअनुसार पहिलो चरणमा काठमाडौं उपत्यका र पोखराबाट सो सेवा शुभारम्भ गरिने बताउनुभएको हो ।

उहाले डिजिटल नेपालको कार्यक्रमलाई प्रभावकारी बनाउन देशैभर इन्टरनेटको गुणस्तर बृद्धिका लागि काम भइरहेको जानकारी दिनुभयो । गुरुङले हुलाक टिकटदेखि आवश्यक सवै कुराको छपाईका लागि सुरक्षण मुद्रण केन्द्रलाई तयारी अवस्थामा राखिएको जिकिर गर्नुभयो ।

उहाले नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारप्रति जिम्मेवारभन्दा पनि जनताप्रति जिम्मेवार बनाउन सार्वजनिक सेवा प्रशारण (पिएसबी) को रुपमा सञ्चालन गरिएको धारणा राख्नुभयो । उहाले संविधान र कानूनमा कुनै पनि शव्द दाहोरो अर्थ राख्ने उल्लेख भए त्यसको दुरुपयोग हुनेप्रति कानून बनाउनेहरु सजक हुनुपर्ने बताउनुभयो ।

त्यस्तै उहाले मिडिया काउन्सिललाई सरकारले स्वायत्त बनाउनेमा ध्यान दिएको समेत बताउनुभयो । उहाँले सामाजिक सञ्जाललाई समेत नियमन गर्नेगरी विधेयक आउने जानकारी दिनुभयो । कार्यक्रममा मन्त्री गुरुङले दुई जना पत्रकारलाई तामाङ पत्रकार अवार्डबाट सम्मान गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्