१७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको अनौपचारिक बैठक जारी रहेको छ । बैठकमा हालसम्म भएका छलफलहरूमा पार्टीभित्र अनुशासन, अभ्यास र तयारीलाई केन्द्रमा राखिएको छ ।
बैठकले सबै सांसदहरूलाई लेटरहेड, कार्डलगायत आधिकारिक कागजातमा एकरूपता कायम गर्न निर्देशन दिएको छ । साथै, व्यक्तिगत कागजातमा ‘माननीय’ सम्बोधन प्रयोग नगर्न पनि स्पष्ट निर्देश गरिएको छ ।
सांसदहरूलाई अझ धेरै सिक्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै मेन्टर र सल्लाहकारसँग नियमित अभ्यास गर्न तथा सकेसम्म सुझाव लिन आग्रह गरिएको छ ।
यस्तै, आगामी निर्वाचनलाई लक्षित गर्दै उपयुक्त उम्मेदवार छनोट र पूर्वतयारीका लागि वैशाख २० गतेदेखि ‘Candidate Club’ कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ । यससँगै, कसैले पनि कसैलाई निर्वाचन टिकटबारे कुनै प्रकारको प्रतिबद्धता नगर्न कडा निर्देशन दिइएको छ ।
यदि यस्तो अनुचित अभ्यास भेटिएमा सम्बन्धित व्यक्ति कारबाहीको भागिदार बन्नुपर्ने चेतावनी पनि बैठकले दिएको छ ।











